साउन २३,हेटौंडा। अनलाईन मार्फत ठगि कारोबार गर्ने ९ जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले हेटौंडाबाट पक्राउ गरि सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरु २८ वर्षीय नवनीत कुमार,२७ वर्षीय शाहरुख खान, २९ वर्षीय कुन्दन कुमार, २६ वर्षीय आशिष कब्डौला, ३४ वर्षीय विशाल कक्कड, ३८ वर्षीय लोकेशकुमार दुवे, २९ वर्षीय विकासकुमार सिंह, २८ वर्षीय अरुण कुमार र ४० वर्षीय कुनाल शर्मा छन् ।
उक्त घटनामा संलग्न अन्य ३ जना फरार रहेका प्रहरीले जनाएको छ।प्रहरीले उनीहरुको साथबाट ३ थान राउटर, १३ थान मोबाईल, १ थान हार्ड डिस्क, ४ थान हेडफोन, २ थान माउस, १८ थान ल्यापटप चार्जर, १ थान वेब क्यामेरा र ४ थान स्ट्याम्प पनि फेला पारेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ पारिजातपथ स्थित प्रमोद वाग्लेको घरको पाचौँ तल्ला भाडामा लिई `मेडिको असिष्ट´ नामको कम्पनी दर्ता गरि अनलाईन मार्फत ठगि गरिरहेको भन्ने सुचनाका आधारमा यहि साउन २१ गते प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले मानव स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने भन्दै हेटौंडा उपमहानगरपालिका कार्यालयमा `मेडिको असिष्ट´ नामको कम्पनी दर्ता गरी अवैधानिक काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए।
एसपि रिजालका अनुसार उक्त कम्पनीले कुनैपनि आर्थिक कारोबार कानुन बमोजिम नगरेको, अभिलेखिकरण पनि नराखिएको र विशेषगरी नेपाली र विभिन्न देशका नागरिकहरुलाई टार्गेट बनाउने गरेको थियो ।
उनिहरुले `क्वीक कल क्लाईन्ट´ सफ्टवेयर मार्फत टारगेट पहिचान गरी टारगेटको सम्पुर्ण डिटेल सोहि सफ्टवेयर मार्फत मूख्य कार्यालय रहेको भारतको राँचिमा ट्रान्सफर गर्ने गरिएको पाइएको पनि एसपी रिजालले बताए।
पक्राउ परेकाहरुले १८ देखि ५० हजार रुपैयाँसम्म भारतीय रुपैँया नगद लिने तर भुक्तानीको कुनैपनि अभिलेख समेत नराख्ने गरेको पाईएको उनले बताए।
भारतको राँचिस्थित हेड अफिसमा मेन सर्भर राखेर उनीहरुले यहाँबाट ठगि धन्दा गर्दै आईरहेका एसपी रिजालको भनाई छ।



