असोज १७, हेटौंडा। हेटौंडामा शुरु खसी कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा पिप्ले युथ एकेडेमीले सुपर भेट्रान्स पिप्लेलाई शून्यका विरुद्ध १२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। एकेडेमीले दर्जन गोल हान्दा पनि भेट्रान्सको तर्फबाट एक गोल पनि हुन सकेन।
युथ एकेडेमी, पिप्ले क्लबले नियमित प्रशिक्षण गराईरहेको १३ वर्ष मुनिको टिम हो भने सुपर भेट्रान्स ४० वर्ष उमेर समूह पार गरिसकेका खेलाडीहरुको टिम हो।
८` ए´ साईड खेलाईएको प्रतियोगिताको पहिलो हाफ गोलरहित बराबरी भएपनी दोश्रो हाफमा भने एकेडेमीका खेलाडीहरुले गोलको वर्षा गरेका थिए। खेलमा दुई खेलाडीले ह्याट्रीक गरे।
एकेडेमीका जर्सी नम्बर १० का खेलाडी दिप्सन अस्थानी मगरले ४ गोल गरे भने जर्सी नम्बर २१ का रिदम बलले ३ गोल गरेका थिए। त्यस्तै जर्सी नम्बर ३१ का किसन थापा मगरले २, जर्सी नम्बर २७ का देवानन्स खरेल, जर्सी नम्बर ५३का सक्षम श्रेष्ठ र जर्सी नम्बर ४ का एलेक्स थापा मगरले समान १/ १ गोल गरे।
प्रतियोगितामा दिप्सन अस्थानी म्यान अफ द म्याच घोषित भए।उनलाई एउटा कुखुरा उपहारस्वरूप प्रदान गरिएको थियो।
त्यस्तै पिप्ले क्लबका सल्लाहकार सदस्य सुदिप सापकोटाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै रिदम बल र दीप कार्कीलाई प्रोत्साहन स्वरुप नगद ५/५ सय रुपैयाँ प्रदान गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापती ध्रुव बिष्टले पनि किसन थापा मगरलाई नगद ५ सय रुपैयाँ नै प्रदान गरेका थिए।
११ टिम सहभागी प्रतियोगिताको फाईनल खेल असोज २२ गते हुने आयोजकले जनाएको छ। प्रतियोगिता बिजेता टिमले ३० केजिको खसी,उपबिजेताले २० केजिको खसी र उत्कृष्ट तथा सर्वाधिक गोलकर्ता खेलाडीले लोकल कुखुराको भाले उपहारस्वरूप प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै म्यान अफ द म्याचलाई पनि एउटा भाले प्रदान गरिने जनाएको छ।
क्लबले बिगत ३० वर्षदेखि बडा दशैंको अवसरमा खसी कप प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिईएको क्लबका अध्यक्ष सुविन घिमिरेले जानकारी दिएका छन्।
अध्यक्ष घिमिरेको अध्यक्षता तथा वडा नम्बर ५ का वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समुद्घाटन भएको थियो।
कार्यक्रममा गत शनिवार पहिरोमा परि मृत्युवरण गरेका वत्सलादेवी एकेडेमी सिस्नेरीमा फुटबल प्रशिक्षणरत ६ खेलाडीहरुको सम्झनामा मौन धारण गरिएको थियो। समारोहमा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि,बुद्धिजीवी,पत्रकार तथा खेलप्रेमी महानुभावहरुको बाक्लो उपस्तिथि थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय