मंसिर ७,काठमाडौ। अब देखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ। सरकारले पर्सि मंसिर ९ गतेदेखि सःशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएको छ ।

आज शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति(गठन) आदेश बमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका हुन्।

त्यस्तै बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र चेम्वर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाललाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ।

यस्तै स्वीट्जरल्याण्ड सरकारबाट सुरक्षित आप्रवासन चौथो चरण कार्यक्रमका लागि प्राप्त हुने करिव १ अर्व ७६ करोड ९७ लाख रुपैया अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताए ।

मन्त्रीपरिषद्ले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको सिफारिसका लागि गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ भने, बैठकले कपिलवस्तु निवासी पूर्णबहादुर नेपालीलाई श्रीलंकाको लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय