मंसिर ८,बारा। पशु अधिकारकर्मीले गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले पशुबली निरुत्साहनका लागि सर्वोच्च अदालतबाट जारी भएको आदेश कार्यान्वयन सम्बन्धी छलफल गरी गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण गराएका हुन् ।
हिजो पशुकल्याण अभियन्ता, कानुन व्यवसायी र सरकारी अधिकारीहरूबिच छलफल गरी पशुबली निरुत्साहनको लागि पहल गरिएको हो ।
पशु कल्याण अभियन्ता स्नेह श्रेष्ठले पशु बलीको सट्टामा रकम दिएर पनि भाकल पूरा गर्न सकिने स्थानीय तहले निर्णय समेत गरेकोले सोही अनुसार गर्न सकिने सुझाईन्। उनले राँगाको बलीको सट्टामा आठ हजार, बोकाको सट्टामा ४ हजार र परेवाको सट्टामा ३ सय रुपैयाँ मन्दिरमा चढाउन सकिने बताइन् ।
विश्व प्रसिद्ध मेलाको रुपमा परिचीत गढिमाई मेला मंसिर १ गतेदेखी बाराको महागढिमाई नगरपालिकामा लागिरहेको छ। यो मेला विश्वमै धेरै पशुबली दिईने मेलाका रुपमा प्रसिद्ध छ।
हरेक ५ वर्षमा लाग्ने यो मेला १ महिनासम्म लाग्नेछ।
आउँदो मंसिर २३ र २४ गते दुई दिन पशुबलि दिईने व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ।



