मंसिर१३,कलैया। बाराको कलैयास्थित रामराजा मोहनवीक्रम साह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख हरिभुषण कुश्वाहको गोली हानी हत्या गर्ने मूख्य अभियुक्त पक्राउ परेका छन्।
क्याम्पस प्रमुखको हत्या गरि फरार रहेका आदर्श कोतवाल गाउँपालिका-२का ४१ वर्षिय सुरेन्द्रप्रसाद कुश्वाहलाई बारा प्रहरीले मोरङ जिल्लाबाट पक्राउ गरेको हो।

अभियुक्त कुश्वाह क्याम्पस प्रमुख हरिभुषणको हत्या गरि फरार रहेका थिए। उनी भारत तथा नेपालको बिभिन्न ठाउँमा लुकिछिपी बस्दै आएका सूचनाका आधारमा बुधवार जिल्ला प्रहरी कार्यालय बाराको टोलीले अथक प्रयास पछी मोरङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन्।
हरिभुषणको गत जेठ ३२ गते शुक्रबार आदर्शकोतवाल गाउँपालिका वडा नं.२ स्थित खजुरीया भन्ने ठाउँमा आफ्नो घरबाट कलैयाबजारतर्फ आउने क्रममा साझँ सवा ५ बजे गोली हानी हत्या गरिएको थियो। डिएसपी सापकोटाका अनुसार घटनामा सुरेन्द्रसहित १७ जना संलग्न थिए।
सुरेन्द्र नेपाली सेनाका भगौडा तथा गाँउघरमा सबैलाई त्रसित बनाउने पृष्ठभुमि भएका प्रवक्ता सापकोटाले बताएका छन्।
घटनाको अनुसन्धानका क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणीप्रसाद कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेदकुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवणकुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम र मोतीलाल चौधरी मध्ये राधेशकुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटिसकेका छन् भने अन्य ८ जना पुर्पक्षको लागि कारागार चलान भैसकेका छन्।
उक्त घटनामा प्रयोग भएको पेस्तोल २ थान,गोली ७ राउण्ड, मोटरसाईकल ४ थान, मोबाईल ४ थान, ल्यापटप २ थान तथा सिमकार्ड ७ थान समेत बरामद गरीएको प्रवक्ता सापकोटाले बताए।
गोली लागी घाईते भएका क्याम्पस प्रमुख हरिभुषणले मृत्यु हुनुपूर्व आफुलाई सुरेन्द्रप्रसाद कुशवाहले गोली प्रहार गरेको बताएका थिए।




