मंसिर १५, पोखरा। सामाजिक अभियन्ता गिभिना मगरलाई अकल्पनीय बज्रपात परेको छ । उनले २४ घण्टाको अन्तरालमा आमा र भाइलाई गुमाएकी छन् ।
गिभिनाकी आमाको हिजो शुक्रवार सवारी दुर्घटनामा मृत्यु भए लगत्तै आज शनिबार उनका कान्छा भाइ अन्दाजी २६ वर्षिय रामकुमार बुढाले पनि आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–२५ म्याम्दीमा ग २ ख १४६० नम्बरको ट्रकले जेब्रा क्रसिङमा ठक्कर दिँदा गिभिनाकी आमा ५५ वर्षीया धनकुमारी बुढाको मृत्युु भएको थियो ।
टाउकोमा गम्भीर चोट लागेको अवस्थामा धनकुमारीलाई पोखराको मणिपाल अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
आमाको घटना घटेको २४ घण्टा नपुग्दै गिभिनाका भाई रामकुमार घरभित्रै मृत भेटिएका हुन् । उनलाई आज बिहान झुण्डिएको अवस्थामा फेला पारिएको थियो । रामकुमारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
आत्महत्याको कारण नखुले पनि आमाको वियोगमा बिक्षिप्त बनेका कारण उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।
दीनदुखीहरुलाई सहयोग गर्दै आएकी गिभिना चर्चित सामाजिक अभियन्ता हुन्। उनले एक साता अघि गत मंसिर ८ गते मात्र बेलायत बस्दै आएका धरान निवासी प्रेमी किरण मगरसँग विवाह गरेकी थिईन्।




