मंसिर १९,काठमाडौ। आज मंसिर १९ गते नेपाली संगीत जगतका एक चम्किला नक्षत्र स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको ३४ औँ स्मृति दिवस। नेपाली सङ्गीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल गुरुवाचार्यको निधन भएको झण्डै साँढे ३ दशक बितिसक्दा पनि नेपाली जन जनको मनमा संगीतका माध्यमबाट अझै झंकृत छन्।
बुवा आशागोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट विसं १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा जन्मिएका उनको विसं २०४७ मङ्सिर १९ गते आजैका दिन ५१ वर्षको उमेरमा निधन भएको थियो।

आज बुधवार उनको ३४औँ स्मृति दिवसको अवसरमा संगीतकर्मी,संगीतानुरागीहरुले उनलाई सम्झिरहेका छन्।
नारायण गोपाल सङ्गीत कोषले पनि उनको सम्झनामा वर्षेनि विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्झिने गर्छ।
उनका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बदलिएको हो भन्दा अतियुक्ती हुँदैन । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उनका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक, स्रोताको मन मनमा राज गर्न सफल भएको थियो। नेपाली भाषाको पहिलो पुस्ताका गायक नारायण गोपालको अद्भुत स्वर कै कारण स्वर सम्राटको उपाधी दिईएको हो।
उनका गीतहरु अहिले पनि के नयाँ के पुराना सबैमाझ उत्तिकै ताजा छन् ।
रेडियो नेपालबाट नारायण गोपालका गीतहरु बज्न थालेपछि हिन्दी गीतको प्रभाव घटेको जानकारहरु बताउँछन् । उनले विसं २०१७ सालमा पहिलो गीत रेकर्ड गरेर साङ्गीतिक यात्रा प्रारम्भ गरेका थिए ।
उनका अधिकांश गीतमा प्रेम र देशभक्ति झल्किन्छ।उनी शब्द र सङ्गीतलाई निकै ध्यान दिएर गाउने गायक हुन्।
परम्परागतरूपमा चलिआएको सङ्गीतमा नारायण गोपालले आधुनिकता भरेका हुन्।उनले जीवनमा गाएका सबै गीत उत्तिक्कै मर्मस्पर्शी,सुमधुर र लोकप्रिय छन्। नारायण गोपालले नेपाली सङ्गीतको क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुण लगाएका छन् ।
साङ्गीतिक जीवनमा उनले केही असफलता पनि बहोर्नुपरेको जानकारहरु बताउँछन् । पहिलोपटक नै स्वर परीक्षामा अनुत्तीर्ण हुनुपरेको , चलचित्र माइतीघरको गीत गाउन जाँदा गाउन नसकेर अस्वीकृत हुनु परेको र भारतको बडोदामा शास्त्रीय सङ्गीतको अध्ययन पूरा नगरी छाडनुपरेको उनका सांगीतिक जीवनका केही असफलताका किस्साहरु हुन्।
१३७ वटा गीतमा आवाज दिएका उनका सबै गीत कालजयी छन् । नारायण गोपालको घरमा शास्त्रीय सङ्गीतबाहेक आधुनिक गीतमा रम्न मनाही थियो । बुबाले आधुनिक सङ्गीतलाई हलुका संगीतका रुपमा लिनुहुन्थ्यो। पूर्व–पश्चिम राजमार्गको निर्माण कार्य चलिरहेका बेला उनले ‘जाग लम्क चम्क हे नौ जवान हो…’ बोलको गीतमा स्वर दिएर ऊर्जा थपिदिने कार्य गरेका थिए । 
एउटा मान्छेको मायाले कति, आँखा छोपी नरोऊ भनी भन्नू पर्या छ, पर्खी बसेँ आउला भनी, यति धेरै माया दिई, यो सम्झिने मन छ, अल्झेछ क्यारे पछ्यौरी तिम्रो, म त लालीगुराँस भएछु,तिम्रो जस्तो मुटु मेरो पनि, तिमीलाई म के भनु, मेरो आँखालाई राख्ने,दुईटा फुल देउरालीमा लगायतका दर्जनौँ अजर अमर गीतमा नारायण गोपालले स्वर दिएका छन् ।
उनी गायक सङ्गीतकारका अतिरिक्त इतिहासका जानकार, फुटबलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका रूपमा पनि रहेको जानकारहरु बताउँछन् । उनले मानविकी शास्त्रमा स्नातकोत्तर गरेका थिए । 
विसं २०२७ साल फागुनमा पेमालाका साथ वैवाहिक जीवनमा बाँधिए पनि उनीहरुबाट कुनै सन्तान जन्मिएनन् ।
मूर्धन्य स्रस्टा नारायण गोपालप्रती श्रद्धा भक्तिपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।🌺🙏



