पुस ९, काठमाडौ। गत ६ गते एनपिएल क्रिकेट फाईनल खेलपछी भएको अभद्र घटनाप्रती राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
“नेपाली क्रिकेट टोलीहरु जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स बीचको अन्तिम खेल पश्चात् भएको त्यस किसिमको साम्प्रदायिकता प्रेरित हिंसात्मक घटना सामाजिक सहिष्णुताले भरिपूर्ण नेपालका लागि अशोभनीय छ । अत : त्यस खाले साम्प्रदायिक क्रियाकलापको हामी सधै विपक्षमा छौं ।” कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ।
उक्त घटनामा उदण्ड समूहका व्यक्तिहरुले जनकपुर बोल्ट्सका समर्थकलाई रड तथा अन्य हातहतियार समेतको प्रयोग गरी कुटपिट गरी घाइते बनाउनुका साथै सामाजिक सञ्जाल मार्फत् नश्लीय तथा रंगभेदी शब्दहरुको प्रयोग गरीएको थियो।
“सामाजिक सहिष्णुता तथा सदभाव नेपाली समाजको विशेषता मात्र नभई हाम्रो सुन्दर तथा विशिष्ट पहिचान समेत भएकाले नेपाली जनमानसमा यो अमूल्य सम्पदालाई चोट नपुर्याई प्रवर्द्धन गर्नु हामी सबै कर्तव्य हो । तसर्थ उक्त घटनाका दोषीलाई कानुन बमोजिम कारवाहीका लागि गृह प्रशासनको ध्यानाकर्षण गराउँदै आगामी दिन यस्ता घटना नदोहोरियोस् भनी सचेत रहन सबैमा अपील गर्दछौं।”
रास्वपाले बिज्ञप्तिमार्फत भनेको छ।



