माघ १३,निजगढ। राष्ट्रिय स्वतन्त्र पार्टी बाराले जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पचरौता नगरपालिका र आदर्श कोतवाल गाउँपालिकामा पालिका कमिटी गठन गरेको छ।
रास्वपाको संगठन निर्माण अभियान अन्तर्गत आईतवार पचरौता नगरपालिकामा भएको प्रारम्भिक भेलाबाट किशिन्द्र ठाकुरको सभापतित्वमा ११ सदस्यीय पालिका समिती चयन भएको रास्वपा बाराका सचिव रामहरि खरेलले जानकारी दिए।
भेलामा जिल्ला सभापति चन्दनकुमार स्वर्णकार, मधेस प्रदेशका संस्थापक सभापति तथा केन्द्रिय संगठन निर्माण अभियानकी प्रतिनिधि तथा केन्द्रिय महिला बिभागकी सचिव ममता शर्मा, प्रदेश सदस्य सजना उप्रेती, जिल्ला उपसभापति श्रीभगवान महतो, बारा निर्वाचन क्षेत्र २ का सभापति कृष्णमुरारी महत्तो लगायत सयौँ समर्थकहरुको सहभागिता थियो।
यस्तै रास्वपाले शनिवार आदर्श कोतवाल गाउँपालिकामा पनि कमिटी गठन गरेको छ। त्यहाँ सहजाद आलमको सभापतित्वमा ९ सदस्यीय कमिटी गठन भएको सचिव खरेलले बताए। भेलालाई सभापति स्वर्णकार र केन्द्रिय महिला बिभागकी सचिव शर्मा लागायतले सम्बोधन गरेका थिए।
पार्टिको भेला आयोजनार्थ कोल्हवी नगरमा पनि थानेश्वर पहाडीको संयोजकत्वमा तदर्थ समिति चयन गरिएको छ।
रास्वपा केन्द्रिय समिति बैठकको निर्णयले माघ २ गते देखि देशव्यापी संगठन निर्माण र सदस्य विस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ।



