माघ१५,निजगढ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको मधेश प्रदेश कमिटी र बारा जिल्ला कमिटीबिच वैधानिकताको विषयमा बखेडा शुरु भएको छ।
यी दुई कमिटीहरुले आफु वैधानिक रहेको दलिल पेश गर्दै बिज्ञप्तिमार्फत जुहारी नै खेलेका छन्।
बाराले विभिन्न पालिका भेला गर्दै पालिका संयोजकहरु तोक्न थालेपछि मधेश प्रदेश समितीले माघ १३ गते एक बिज्ञप्ति निकाल्दै ध्यानाकर्षण भएको जनाएको हो।
प्रदेश महामन्त्री एवं संगठन विभाग प्रमुख मनिषकुमार साहद्वारा हस्ताक्षरित बिज्ञप्तिमा “बारामा संगठन निर्माणको नाममा केही स्थानिय र पार्टीको साधारण सदस्य भएका व्यक्तिले पार्टीको नाम र चुनाव चिन्ह प्रयोग गरि सामाजिक सञ्जालमा भेला गठन सम्बन्धी पोष्ट गरिएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको” उल्लेख छ।
बिज्ञप्तिमा कुनै तहको भेला वा संगठन निर्माणकार्य प्रदेश संगठन विभागको अनुमतीमा हुने हुँदा आफ्नो अनुमती बेगर गरिएको भेला अवैधानिक र अमान्य रहेकाले यस्ता गतिविधि तुरुन्त रोकि पार्टीको बदनाम हुने कार्य नगर्न उक्त समूहलाई आग्रह गर्दछु,भनिएको छ।
यस्तै अनाधिकृत रुपमा पार्टीको नाम, चुनाव चिन्ह र झण्डा प्रयोग भएको पाईएमा आवश्यक कानुनी दायरामा ल्याईने पनि बिज्ञप्तिमा उल्लेख छ।
यता बारा जिल्ला समितिले पनि प्रदेशको बिज्ञप्तिलाई ‘काउण्टर’दिँदै प्रदेश समिति नै अवैधानिक रहेको जिकिर गरेको छ।
२०७९ साल फागुन ९ गते ६ महिनाका लागी मात्र गठन भएको प्रदेश समितीको म्याद गुज्रिसकेकोले हाल उक्त समिती नै अवैधानिक भएको बाराले ठोकुवा गरेको हो।
तसर्थ उक्त अवैधानिक समितीसँग आफ्नो समितीको कुनैपनी सम्बन्ध नरहेको र प्रदेशमा वैधानिक समिती नबनुन्जेल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिती वा विभाग वा कार्यदलको मात्रै निर्देशन र कार्यविधी बमोजिम आफ्नो समिति संचालन हुने उसले जनाएको छ।
बिज्ञप्तिमा “अवैधानिक समितिका केहि अवैधानिक ब्यक्तिहरुले रास्वपा बाराको बिषयमा अवैधानिक अफवाह फैलाउँदै अराजकता मचाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी बाराको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
जिल्ला सहसचिव एवं प्रवक्ता पवन चौधरीद्वारा हस्ताक्षरित प्रतिकारपूर्ण बिज्ञप्तिमा ७८ सदस्यिय प्रदेश समितिमा २ देखि अधिकतम ५ सदस्यले मात्र निर्णय गर्ने गरेको, आफ्नो वडा समेत बनाउन नसकेका र वडासदस्य हुने समेत ल्याकत र क्षमता राख्न नसक्ने केही व्यक्ती विशेषले आफुहरु सिंगो मधेस प्रदेश भएको अहंकार पालेको तथा मधेसी समुदायले तिरेको चर्को लेभि रकममा पारदर्शीता नराखि उक्त रकममा व्यापक भ्रष्टाचार भएको चर्चा मधेस प्रदेशभरी रहेको जस्ता संगीन आरोप पनि लगाईएको छ।
प्रदेशका महामन्त्री एवं संगठन विभाग प्रमुख मनिषकुमार साहले कुनैपनी तदर्थ समितिको म्याद नतोकिने उल्लेख गर्दै अधिवेशन नभएको अवस्थामा तदर्थ समिती नै आधिकारिक हुने भएकाले आफुहरु वैधानिक समिति कायम रहेको बरु गत पुस ६ गते भएको बारा जिल्ला भेला अपूर्ण रहेकोले कुनै समिती नबनेको बताए।
यद्यपि सोही दिनको भेलाबाट निर्वाचित चन्दन स्वर्णकार नेतृत्वको जिल्ला समिति बाराले पार्टिका केन्द्रिय संगठन विभागका सचिव शंकर श्रेष्ठबाट पद तथा गोपनियताको शपथ खाईसकेको छ।



