बैशाख२७,निजगढ। वडा नम्बर ४ निजगढमा जारी प्रथम विकल रेग्मी स्मृति जुनियर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शनिवार भएको रोमाञ्चक सेमिफाइनल खेलमा वडा नम्बर १ सिंगौललाई १-२ गोल अन्तरले हराउँदै ४ नम्बर फाईनल प्रवेश गरेको हो।
टिमको जितमा टिम क्याप्टेन समेत रहेका जर्सी नम्बर ७ का खेलाडी समिर कुमरले २ गोल गरे। उनले पहिलो हाफको अन्त्य तिर १गोल र दोश्रो हाफको दोस्रो मिनेटमा अर्को गोल गरेका थिए।
वडा नम्बर १ को तर्फबाट जर्सी नम्बर १६ का प्रकाश मोक्तानले दोश्रो हाफको चौथो मिनेटमै गोल फर्काएर टिमलाई लयमा ल्याए पनि टिमले थप गोल गर्न सकेन।
निकै प्रतिस्पर्धात्मक खेलमा १ नम्बरले केही सुनौलो अवसरहरुको सदुपयोग गर्न सकेन।अन्ततः उ स्तब्ध बन्यो।

अब ४ नम्बरले भोली आईतवार वडा नम्बर ११ र ७ का बिच हुने अन्तिम सेमिफाइनलको विजेता टोलिसँग फाईनल भिड्ने छ।
खेलको ‘म्यान अफ द म्याच’ विजेता टिमका २ गोलकर्ता खेलाडी समीर कुमर घोषित भए।
उनलाई वडा नम्बर ४ का वडासदस्य सागर गौतम,स्थानीय समाजसेवी बेनि मोक्तान,प्रशिक्षक धनबहादुर योञ्जन र स्व.विकलकी आमा कमला रेग्मिले नगद एक हजार रुपैयाँ सहित ट्रफी प्रदान गरे।
प्रतियोगितामा १६ वर्ष मुनिका खेलाडीहरु समावेश गरिएको छ।
निजगढ नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा सञ्चालित प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ तथा दोश्रो हुने टिमले नगद ३१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। फाईनल खेल बैशाख ३० गते हुने तय गरिएको छ।



