बैशाख२८निजगढ। प्रथम विकल रेग्मी स्मृति जुनियर कप फुटबल प्रतियोगिताको उपाधीका लागी वडा नम्बर ४ र ११ आमनेसामने भएको छ। आईतवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा वडा नम्बर ११ ले ७ नम्बरलाई पराजित गरेको हो।
निकै प्रतिश्पर्धात्मक खेलमा जर्सी नम्बर १० का खेलाडी निकास गुरोले खेलको उतरार्द्व तिर १ गोल हानेका थिए। उक्त गोल नै निर्णायक बन्यो।
खेल अवधीभर दुबै टिमले राम्रो अवसर प्राप्त गरेपनी सदुपयोग गर्न सकेनन्। ११ नम्बर अब ३० गते मंगलवार हुने फाईनल खेलमा वडा नम्बर ४ सँग भिड्नेछ। ४ नम्बरले वडा नम्बर १ लाई पराजित गर्दै फाईनल सम्मको यात्रा तय गरीसकेको छ।
फाईनल प्रवेश गर्ने दुबै टिममा थारु तथा जनजाति समुदायका खेलाडीहरुको बाहुल्य छ। उनिहरु शारीरिकरुपमा बलिष्ठ र फ़ुर्तिलो कहलिएका छन्।
खेलको ‘म्यान अफ द म्याच’ विजेता टिमका जर्सी नम्बर १३ का खेलाडी राहुल धामी घोषित भए।
उनलाई अग्रज पत्रका गोकुल घोरसाईने,मगर संघ बाराकी कोषाध्यक्ष विभा मगर तथा स्व.विकलकी आमा कमला रेग्मिले नगद एक हजार रुपैयाँ सहित ट्रफी प्रदान गरे। प्रतियोगितामा १६ वर्ष मुनिका खेलाडीहरु समावेश गरिएको छ।
निजगढ नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा सञ्चालित प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ तथा दोश्रो हुने टिमले नगद ३१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। फाईनल खेल बैशाख ३० गते मंगलवार हुने तय गरिएको छ।



