जेठ१३,निजगढ।बाराको निजगढमा प्रथम नगर स्तरीय अन्तर विद्यालय क्रीकेट प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता आगामी जेठ १७ गतेदेखी निजगढ-६ स्थित क्रीकेट मैदानमा आयोजना हुने भएको हो।

निजगढ नगर खेलकुद विकास समितिको आयोजना र निजगढ क्रीकेट क्लबको व्यवस्थापनमा हुने प्रतियोगिताको विजेता टिमले नगद ३० हजार रुपैयाँ र उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

हरेक दिन ‘म्यान अफ द म्याच’ र विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।

१६ ओभरमा खेलाईने खेलमा माध्यमिक विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको ९ ओटा टिमले सहभागिता जनाउने अनुमान गरिएको निजगढ क्रीकेट क्लबका अध्यक्ष निर्मल सापकोटाले जानकारी दिए।

निजगढको हकमा यो प्रतियोगिता ऐतिहासिक हुने अध्यक्ष सापकोटाले बताए।

“निजगढमा अन्य खेलका प्रतियोगिताहरु पहिलेदेखी नै हुँदै आएकै हो, क्रीकेट प्रतियोगिता पहिलोपटक आयोजना गर्दैछौँ,यसले हामी र खेलाडीहरु पनि उत्साहित छौँ।” सापकोटाले भने।

निजगढमा क्रीकेट खेलको प्रवर्द्धन गर्न नै गत साल आफ्नो अध्यक्षतामा निजगढ क्रीकेट क्लबको स्थापना गरेको पनि सापकोटाले बताए।

नगर खेलकुद विकास समितिले यसअघि प्रथम विकल रेग्मी जुनियर कप फुटबल प्रतियोगिता र प्रथम नगर स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गरिसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय