जेठ१४,बुटवल।रुपन्देहीको बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आज (बुधवार)बिहान एक महिलासहित दुई बालिकाको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्दाजी ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरीहरू, ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमानी ढकालको हत्या भएको हो।

दीपाकी पूर्वपति ३५ वर्षिय सुजन कोइरालाले उनीहरुको हत्या गरेको प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए।
डिएसपी कार्कीका अनुसार सुजनले पूर्वपत्नी दीपालाई हिजो आफ्नो घरमा बोलाएका थिए।
२ छोरीसहित सुजनको घरमा पुगेकी दीपा र दुईछोरीलाई सुजनले आज विहान ४ बजे घरको कोठाभित्रै धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन्।
डिएसपी कार्कीका अनुसार दीपाले केही वर्षअघि सुजनसँग सम्बन्धविच्छेद गरी शंकर ढकालसँग विवाह गरेकी थिइन्।
मृतक बालिकाहरू शंकरकै सन्तान भएको खुलेको छ।
घटनास्थलमा तीनै जनाको शव फेला परेको थियो।हत्या पछि फरार भएका सुजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका क्रममा सुजन पहिले पनि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भोगी संविधान दिवसको दिन आममाफीबाट छुटेका व्यक्ति रहेको खुल्न आएको प्रहरीले जनाएको छ।



