जेठ१७,हेटौंडा। ५६औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा शनिवार वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
सप्ताहव्यापी वातावरण संरक्षण कार्यक्रम अन्तर्गत दोस्रो दिनको मुख्य कार्यक्रमका रूपमा गरिएको यस सरसफाइ अभियानमा नगरका गल्ली, चोक, सार्वजनिक स्थल, बजार क्षेत्र र विद्यालय आसपासका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सफाई गरिएको थियो।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा १९ वटै वडाका टोल विकास संस्थाको समन्वय तथा टोल विकास नगर समन्वय समितिको आयोजनामा भएको हो।
नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले हेटौंडालाई स्वच्छ, हरित र प्लाष्टिकमुक्त बनाउने उद्देश्यले टोल विकास संस्थाहरु लामो समयदेखि क्रियाशील रहेको बताए।
“हामीले वातावरण संरक्षणको अभियानलाई समुदायमै पुगेर जगाउन खोजेका छौं। प्लाष्टिकजन्य प्रदूषणको चपेटामा परिरहेको हाम्रो नगरलाई स्वच्छ, सुरक्षित र हरियाली बनाउन सबै वडाबाट एकसाथ हातेमालो गर्दै यो अभियान सञ्चालन गरेका हौँ,” अध्यक्ष अधिकारीले भने।
कार्यक्रममा टोलविकास संस्था, वडा समन्वय समिति, सामुदायिक वन समूह, स्काउट टोलहरु, नेपाल रेडक्रस सोसाइटी, सामुदायिक प्रहरी सेवा केन्द्र, महिला समूह, युवा क्लब लगायत विभिन्न सामाजिक संघसंस्थाको उल्लेखनीय सहभागिता थियो।
सप्ताहव्यापी वातावरण संरक्षण अभियानको पहिलो दिन उपमहानगरपालिकाको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो। अभियानको तेस्रो दिन भोलि आईतवार हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसमा ‘हेटौंडा सुन्दर वातावरण’ विषयक चित्रकला प्रतियोगिता तथा प्रकृति संवाद यात्रा २०८२ आयोजना गरिने अध्यक्ष अधिकारीले बताए।
विश्वभर प्रत्येक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवसको सन्देशलाई आत्मसात गर्दै हेटौंडाले यो वर्ष समुदायस्तरमै वातावरणको संरक्षण र स्वच्छताप्रतिको उत्तरदायित्वलाई बलियो बनाउने प्रयास गरेको छ।



