जेठ३०,निजगढ।बारा प्रहरीले स्रोत नखुलेको(हुण्डी रकम)१३ लाख रुपैयाँ भन्दा बढी रकमसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-१६ का विजय महतोका २० वर्षिय छोरा सुरज कुश्वाह छन्। उनी विहिवार अपरान्ह ४ बजे,१३ लाख ७ हजार ५ सय रुपैयाँसहित सिमराबाट पक्राउ परेका हुन्।

जीतपुर- सिमरा उपमहानगरपालिका-२ स्थित एयरपोर्ट रोडमा कालो भिर्ने झोला पिठ्युँमा बोकि शंकास्पद अवस्थामा हिँडिरहेका कुश्वाहलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीको कमाण्डमा खटिएको टोलिले सिमरा चोकबाट एयरपोर्टतर्फ जादैँ गर्दा पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
कुश्वाहको झोला रितपूर्वक खनतलासी गर्दा झोलाभित्र स्रोत नखुलेको १ हजार दरका १ हजार ६७ थान,५ सय दरका ४ सय ८० थान र सयदरका ५ थान गरी जम्मा तेह्र लाख सात हजार पाँच सय रुपैँया र विभिन्न बिलभौचर,कागजातहरु तथा सागर मनि ट्रान्सफर वीरगंज लेखिएको स्टाम्प समेत फेला पारिएको डिएसपी पण्डितले बताए।
पक्राउ परेका कुश्वाह विरुद्ध हुण्डी कारोबार सम्बन्धि शिर्षकमा मुद्दा दर्ता भई आवश्यक अनसुन्धान कार्य भईरहेको उनको भनाई छ।




