असार३,हेटौंडा।स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका दुई नेतालाई साँघातिक आक्रमण गरेका छन्।
मंगलवार वडा नम्वर९ स्थित आँधिखोला नदिमा भएको प्राकृतिक दोहन रोक्न र सम्भावित प्राकृतिक दुर्घटना नियन्त्रणका लागि आवाज उठाउँदा रास्वपाका केन्द्रीय सदस्य तथा अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथी फलामको रडले प्रहार गरि घाईते बनाएका रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
वडाध्यक्ष खनालको आक्रमणबाट नेपालले लगाएको हेलमेट फुटेको, प्रहार छेक्दा दाहिने हात फ्र्याक्चर भई गम्भिर चोट लागेको र उपचारका लागि पोखरा अस्पताल लैजाने क्रममा रहेको जानकारी प्राप्त भएको झाले बताए।
नेता दिनकर नेपालले पनि आक्रमण पछि फेसबुक लाईभमार्फत घटनाका बारे बताएका छन्। विरोध कार्यक्रम गरेर फर्कँदैगर्दा वडाध्यक्ष खनाल र अर्का एकजना व्यक्तिले मोटरसाइकल रोकि टाउकोमा फलामे रड प्रहार गरेका उनले बताएका छन्।
प्रहारलाई हातले छेक्न खोज्दा दुबैहातमा गम्भीर चोट लागेको उनको लाईभमा देख्न सकिन्छ। अर्का नेता आलेले आफुलाई भने नालामा हालेको बताएका छन्।
खनाल अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन्।
देशमा विद्यमान लुटतन्त्रको अन्त्य गर्ने भयले गरिएको यस प्रकारको हिंसात्मक र आपराधिक आक्रमणको रास्वपाले घोर निन्दा गरेको जनाएको छ।
साथै उसले जघन्य अपराधमा संलग्न सबैलाई अविलम्ब गिरफ्तार गरि हदैसम्मको कारबाहीको माग पनि गरेको छ।
यस प्रकारको आक्रमणले सुशासन र लुटतन्त्र बिरूद्धको अभियानबाट बिचलित नभै अभियानलाई निरन्तरता दिन सशक्त उर्जा थप्ने झाको भनाई छ। घाईतेहरुको उपचारमा पार्टीले आवश्यक पहलकदमी लिने पनि झाले बताएका छन्।



