असार५,हेटौंडा।मकवानपुरका क्रियाशिल ७ राजनीतिक दलले हेटौंडा उपमहानगरपालिका-१का वडाध्यक्ष सबिन न्यौपानेमाथी भएको आक्रमण र अभद्र व्यवहार गर्नेलाई तत्काल पक्राउ गरि हदैसम्मको कार्वाही गर्न माग गरेको छ।
जिल्लाका नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी ,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज एक संयुक्त बिज्ञप्ति जारी गरि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग जोडदार माग गरेको हो।
“समस्याको समाधानको वैकल्पिक उपाय भौतिक आक्रमण होइन,यो त लोकतन्त्रको अवमूल्यन हो।समस्या समाधानको उत्तम उपाय संवाद र समझदारी लाई उपहास गरि जनप्रतिनिधिमाथी भएको अमानवीय एवं अभद्र व्यवहारप्रती घोर आपत्ति प्रकट गर्दछौँ। यस प्रकारको अराजक गतिविधिलाई आगामी दिनहरुमा समेत दोहोरीन नदिने गरि घट्नामा संलग्नहरुलाई तत्कालै नियन्त्रणमा लिई प्रचलित कानुन वमोजिम कडा भन्दा कडा कार्वाहीको लागि जिल्ला प्रसाशन र जिल्ला प्रहरी कार्यालय मकवानपुरसँग जोडदार माग गर्दछौँ।” बिज्ञप्तिमा भनिएको छ।
उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका न्यौपानेलाई अज्ञात समूहले हिजो बुधवार उनकै कार्यकक्षमा प्रवेश गरि आक्रमण गरेको र कालोमोसो दल्ने अमानवीय कार्य गरेको घटना सार्वजनिक भएको थियो। उक्त समूहले न्यौपानेको मोबाईलसमेत लुटपाट गरेको जनाईएको छ। घटनामा उनि सामान्य घाईते भएका छन्।



