असार१३,निजगढ।बारा प्रहरीले राजश्व छलि ल्याएको ९० लाख भन्दा बढी रकम बराबरको विभिन्न सामग्रीसहित २ ओटा कन्टेनर ट्रकलाई नियन्त्रणमा लिएको छ।
जीतपुर सिमरा उप-महानगरपालिका-७ जीतपुरस्थित चेक प्वाईन्टमा चेकजाँच गर्दा बिलबिजक भन्दा बढि सामान बोकेको ९० लाख ६४ हजार ९ सय ५ रूपैयाँ बराबरको सामानहरूसहित २ वटा कन्टेनर ट्रकहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाईएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विहिवार राती ११ बजेर ४० मिनेटको समयमा प्रहरी वरिष्ठ नायब निरीक्षक जे जंग कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलिले वीरगंजबाट झापातर्फ जाँदै गरेको ना ५ ख ३५५९ नम्वरको कन्टेनर ट्रकमा चालिस लाख एक हजार चार सय उनन्सत्तरी रुपैयाँ बराबरको मेडिकल सामाग्रिहरु, कपडा, ट्यावलेट र अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको हो।
यसैगरी,शुक्रवार विहान २ बजेर ४० मिनेटको समयमा प्रहरी सहायक निरीक्षक राजन सिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलिले वीरगंजबाट काठमाण्डौतर्फ जान आउँदै गरेको ना ३ ख ७३११ नम्वरको कन्टेनर ट्रकमा पचास लाख त्रिसट्ठि हजार चार सय छत्तिस रुपैयाँ बराबरको रेडिमेट कपडाहरु, टायर र अन्य खुद्रा सामानहरू नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।



