असार१४,हेटौंडा।मकवानपुरका दुई छुट्टाछुट्टै स्थानमा भएको भिन्न दूर्घटनामा दुईजनाको मृत्यु भएको छ।
जिल्लाको राक्सिराङ गाउँपालिका-८ मा चट्याङ लागेर एक बालिका र हेटौंडा-१९ स्थित सान्नानीटारमा एक पुरुषको दूर्घटनामा ज्यान गएको हो।
शुक्रवार साँझ साँढे ५ बजेको समयमा मेशिराङस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ्ग लागी ७ वर्षिया बालिका युनिका प्रजाको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चट्याङ लागी गम्भीर घाईते भएकी युनिकालाई उपचारार्थ मनहरी अस्पताल ल्याईएकोमा राती ८ बजेर ५२ मिनेट जाँदा उपचारकै क्रममा मृत्यु भएको हो।
चट्याङले युनिकाकी आमा २७ वर्षिया रविना प्रजा सामान्य घाईते भएकी छिन्। मृतकको शव पोष्टमार्टम र घाईते रविनालाई थप उपचारका लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ।
यसैगरी,शनिवार विहान २ बजेर २५ मिनेटको समयमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ स्थित सान्नानीटारको सडक छेउमा हाल नामथर वतन नखुलेका अन्दाजि ४० वर्षिय एक पुरुषको मृत्यु भएको छ।
ईलाका प्रहरी कार्यालय,नेवारपानीबाट खटिएको प्रहरीको गस्ति टोलिले घटनास्थलमा गम्भीर घाईते फेला पारेका ती पुरुषलाई हेटौडा अस्पतालमा ल्याई चेकअप गर्दा विहान ३ बजेर २० मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।घटनाको प्रकृति हेर्दा ती पुरुषलाई सवारी साधनले ठक्कर दिएको जस्तो देखिएको प्रहरीले जनाएको छ।
शव अस्पतालमै रहेको र घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।



