असार१५,हेटौंडा।”विकृति र प्रतिशोधको अवसान, विधिको शासन कायम गर” भन्ने मूल नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौर गेटअगाडि शनिवारदेखी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ।
जिल्ला सभापति भरत पराजुलीको नेतृत्वमा सुरु गरिएको अभियान पार्टी सभापति रवि लामिछानेमाथि भएको “राजनीतिक प्रतिशोध”को विरोधमा रहेकाे सभापति पराजुलिले बताए।
कार्यक्रममा “राजनीतिक प्रतिशोध बन्द गर”, “दलीय सिन्डिकेट लोकतन्त्रको अवरोध”, “राज्य संरक्षित अराजकताविरुद्ध जनताको आवाज” लगायतका नारासहित जनसमुदायलाई हस्ताक्षर अभियानमा सहभागी गराइएको छ।
सभापति पराजुलीका अनुसार अभियान मकवानपुर जिल्लाभरिका विभिन्न स्थानमा चरणबद्ध रूपमा विस्तार भईरहेको छ। उनका अनुसार हालसम्म जिल्लामा करिब ४ हजार जनाले समर्थन हस्ताक्षर गरिसकेको बताए।
अभियान तीन महिनासम्म निरन्तर चल्ने र संकलित हस्ताक्षरहरू प्रधानमन्त्री तथा अन्य सम्बद्ध संवैधानिक निकायमा बुझाइने पराजुलीले बताएका छन्।
रास्वपाले मुलुकमा देखिएको कथित राजनीतिक हस्तक्षेप, संस्थागत भ्रष्टाचार, तथा निष्पक्षतामाथि उठेका प्रश्नहरूलाई जनताको सहयोगमा उठाउने उद्देश्यले यो पहल थालेको बताएको छ।
अभियानमा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति र सहभागिता देखिएको छ।
रास्वपा वागमती प्रदेश कमिटीले गत बुधवार पनि हेटौंडाको बुद्ध चोकमा हस्ताक्षर अभियान संचालन गरेको थियो।
सभापति रवि लामिछाने माथी राज्यले “राजनैतिक प्रतिशोध साँधेको” भन्दै रास्वपाले विश्वव्यापीरुपमा जनहस्ताक्षर अभियान चलाईरहेको छ।



