भदौ७,हेटौंडा।हेटौंडामा सवारी दूर्घटनामा परि वीरगंजकी एक महिलाको ज्यान गएको छ।
पर्साको वीरगंज महानगरपालिका-१३ बस्ने ४३ वर्षिया कविता जोशीको पूर्व-पश्चिम सडकखण्ड अन्तरगत हेटौंडा-९ पशुपति नगरमा भएको मोटरसाइकल दूर्घटनामा ज्यान गएको हो।
शनिवार पौने ५ बजेको समयमा रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०२-०४५ प ५५९७ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा.प्र.०३-००५ प ९०६९ नम्बरको अर्को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कविता आफ्ना ४८ वर्षिय श्रीमान प्रविण श्रेष्ठले चलाएको बा.प्र.०३ ००५ प ९०६९ नम्बरको मोटरसाइकलमा पछाडी सवार भई वीरगंजतर्फ जाँदै थिईन्।
प्रविणको शरिरका विभिन्न भागमा चोट लागे पनि उनको अवस्था सामान्य रहेको छ।
मोटरसाइकलबाट उछिट्टिएकी कविताको हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ७ ख ५०१० नम्बरको बसमा समेत ठोक्किन गई शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाईते भएकी थिईन्।
उनको हेटौंडा अस्पतालमा उपचारकै क्रममा साँढे ५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।शव हाल सोही अस्पतालमा राखिएको छ।
ठक्कर दिने मोटरसाइकल र चालक,बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



