कार्तिक२४,निजगढ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा जंगली हात्तीको आक्रमणमा परी एकजना ट्रक चालकको ज्यान गएको छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ सिमराका अन्दाजी ४०/४२ वर्षका राजकुमार चौधरीको हात्तीको आक्रमणबाट ज्यान गएको हो। शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल कलैया पठाईएको प्रहरीले जनाएको छ।

निजगढ नगरपालिका अन्तरगत १२ किलो र पसाहा पुलको बीचमा आईतवार पौने १२ बजे पर्सा राष्ट्रिय निकुञ्जको वन्यजन्तु क्रसिङ जोन वरीपरि निस्केको हात्तीले सवारी साधन रोकी निस्केका चालकलाई आक्रमण गरि ज्यान लिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिएका छन्।

हात्तिले WB73 G 9587 भारतीय नम्वरको माईक्रो बस र बा २ च ७९२८ नम्वरको पिकअप भ्यानलाईसमेत पल्टाईदिएको छ।

निरीक्षक लामिछानेका अनुसार भारतिय नम्बर प्लेटको फोर्स गाडीमा हात्ती पटकपटक फर्की पल्टिसकेको गाडीभित्र भएको सरसामानहरू खोजी, निकाली क्षति गर्नुकासाथै राजमार्गमा हिँडेका दर्जनौं गाडीको सिसा पनि फुटाईदिएको छ।

सोमवार विहान १० बजेसम्म पनि हात्ती सोही क्षेत्र वरपर रहेकोले ईलाका प्रहरी कार्यालय,निजगढ, निकुञ्जको नेपाली सेना तथा सशस्त्र प्रहरीको टोलि खटिई हात्ती धपाउने पहल भैरहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय