मंसिर४,निजगढ।बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमराचोकमा बुधवार जेनजी र युवासंघ बिच भएको घटनामा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा जीतपुरसिमरा-६ का वडाध्यक्ष कैमुद्दिन अन्सारी र वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ छन्।
उनिहरुविरुद्व परेको किटानी जाहेरीका आधारमा आज पक्राउ गरि थप अनुसन्धान भईरहेको बारा प्रहरी प्रवक्ता डिएसपी बिजयराज पण्डितले जानकारी दिएका छन्।
तर,जेनजी युवाहरुमाथी हातपात गर्ने मूख्य आरोपी पाँचजना अझै पक्राउ नगरेको भन्दै जेनजीहरुले आजपनि सिमराचोकमा प्रदर्शन गरिरहेका छन्।
उनिहरुले पक्राउ परेका भनिएका वडाध्यक्षहरुलाई सार्वजनिक गर्नुपर्ने,आफुहरुले दिएको जाहेरी अनुरुप ज्यानमार्ने उद्योगमा मुद्दा चलाईनुपर्ने,फरार आरोपीहरु यथाशीघ्र पक्राउ गर्नुपर्ने लगायतका माग राखी प्रदर्शन गरिरहेका त्यहाँस्थित संचारकर्मी शिवशंकर पटेलले समाचार क्लबलाई जानकारी दिए।
अन्यथा,बारा जिल्ला प्रहरी प्रमुख र ईलाका प्रहरी कार्यालय सिमराका प्रमुखको राजिनामा माग्दै उनिहरुले प्रदर्शन गरीरहेका उनले बताए।
उनका अनुसार त्यहाँ झण्डै ४ हजारको संख्यामा जेनजी युवा र तिनका अभिभावकहरुको सहभागिता रहेको छ। प्रदर्शनका कारण पथलैया-वीरगंज रुटमा चल्ने सवारीहरु ठप्प छन्।
बुधवार नेकपा एमालेका महासचिव शंकर पोखरेल र अर्का नेता महेश बस्नेत मधेश जागरण अभियान अन्तर्गत बाराको परवानीपुर आउने भएपछी जेनजी समूहले सिमरा चोकमा विरोध प्रदर्शन गर्न लागेको थियो।
युवासंघ र जेनजीयुवाहरु बिच छलफलकै क्रममा जेनजी मुभमेन्ट बाराका संयोजक सम्राट उपाध्यायमाथी हातपात भएपछी घटनाले उग्ररुप लिएको थियो। त्यसपछी स्थानिय प्रशासनले स्थिती नियन्त्रणमा लिन कर्फ्यु आदेशसमेत जारी गरेको थियो।



