पुस १९,काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष र नियमित महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किँदा पार्टी फुट्ने आशंका बढेको छ। संस्थापन पक्षले २०८३ वैशाख २८–३१ मा १५औँ महाधिवेशन गर्ने निर्णय गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको अडानमा छन्।
नेता डा. चन्द्र भण्डारीले पार्टी र देशको हितका लागि विशेष महाधिवेशन माग गर्ने नेताहरूको विषय सम्बोधन गर्नुपर्ने भन्दै पार्टीलाई विखण्डनबाट जोगाउन नेतृत्व गम्भीर हुनुपर्ने बताए।
महामन्त्री विश्वप्रकाश शर्माले भने कांग्रेस नफुट्ने दाबी गर्दै छिट्टै सहमति हुने विश्वास व्यक्त गरे।
प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थपिएको र १५औँ महाधिवेशनको प्रक्रिया निरन्तर रहेको जानकारी दिए। तर विशेष महाधिवेशनबारे फरक मत कायमै रहँदा कांग्रेसको भविष्यबारे संशय कायम छ।



