माघ २३,रौतहट।रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट एक ४ वर्षीया बालिकाको असामयिक निधन भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गहिरो दुःख व्यक्त गरेको छ।

​पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले पार्टी अत्यन्तै स्तब्ध र मर्माहत भएको बताएका छन्। विज्ञप्तिमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ।

विज्ञप्तिका मुख्य बुँदाहरू:

  • छानबिनमा सहयोग: रास्वपाले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको जनाउँदै वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
  • न्याय र राहतको सुनिश्चितता: कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने र राहतका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको विज्ञप्तिमा उल्लेख छ।
  • कडा निर्देशन: चुनावी अभियानमा प्रयोग हुने सवारी साधनको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीले आफ्ना उम्मेदवार, कार्यकर्ता र सवारी चालकहरूलाई कडा निर्देशन दिएको छ।

​हिजो (बिहीबार) दिउँसो करिब २:३० बजे इशनाथ नगरपालिका–४, मठिया टोलस्थित मस्जिद नजिकै खेलिरहेकी ४ वर्षीया बालिका अल्फा खातुनलाई बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिएको थियो।

उक्त गाडी क्षेत्र नं.२ रास्वपा उम्मेदवार सगिर आलमको चुनावी अभियानका लागि प्रयोग भइरहेको थियो। दुर्घटनाका समयमा गाडीमा उम्मेदवार आलम भने सवार नरहेको र चालक मात्रै रहेको प्रहरीले जनाएको छ।

चुनावी सरगर्मी बढिरहेका बेला भएको यस दुःखद घटनाले चुनावी प्रचारप्रसारमा सुरक्षा सावधानीको विषयलाई पुनः गम्भीर रूपमा उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय