फागुन ६,निजगढ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि केन्द्रीय महिला तथा सामाजिक विकास विभाग सदस्य एवं मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको घोषणा गरेकी छिन्।
२०७९ श्रावण १० गतेदेखि पार्टीमा सक्रिय शर्माले नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै आज केन्द्रीय कार्यालयमा राजिनामा बुझाएकी सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी हुन्।

शर्माले आफ्नो राजिनामा पत्रमा पार्टीको वर्तमान कार्यशैली र निर्णय प्रक्रियामाथि तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्। उनले औंल्याएका मुख्य बुँदाहरू यस प्रकार छन्:
- विधि र विधानको उल्लंघन: आसन्न फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा पार्टीले अवलम्बन गरेको पद्धति स्थापनाकालीन मूल्य-मान्यता र विधान विपरित रहेको।
- योगदानको अवमूल्यन: संगठनमा अहोरात्र खटिने क्षमतावान् कार्यकर्ताहरूको उचित मूल्यांकन नभएको।
- आर्थिक अनियमितताको आरोप: पार्टीका पछिल्ला निर्णयहरू सिद्धान्तभन्दा बढी “आर्थिक अनियमितता” बाट प्रेरित भएको र यसले आफ्नो आत्मसम्मानमा चोट पुगेको उनको दाबी छ।
- नारा र व्यवहारमा भिन्नता: “जान्नेलाई छान्ने” नारा बोकेको पार्टीले व्यवहारमा भने त्यसको ठीक विपरित कार्य गरेको शर्माको आरोप छ।
राजिनामा पत्रको सार:
शर्माले पत्रमा लेखेकी छन्, “पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरू माथि आँच आउने परिस्थिति बनेको छ; यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।”
बारा घर भएकी शर्मा मधेश प्रदेशमा रास्वपाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने नेतृ मानिन्थिन्। उनले राजिनामा दिएसँगै रास्वपाभित्रको आन्तरिक कलह र निर्णय प्रक्रियालाई लिएर पुनः बहस सुरु भएको छ।




