फागुन ८,निजगढ।राजनीतिमा नयाँ पुस्ता र महिलाको अर्थपूर्ण सहभागिताको नारा घन्किइरहँदा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको एउटा आन्तरिक द्वन्द्व सतहमा आएको छ। मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी सभापति रवि लामिछानेले आफूलाई पटक-पटक आश्वासन दिएर अन्ततः चुनावी प्रक्रियाबाटै बाहिर पारेको गम्भीर आरोप लगाएकी छिन्।
शर्माले सामाजीक सञ्जाल फेसबुकमा एक महिना अवधिमा सभापति रवि लामिछाने र आफु बिच भएको कुराकानीलाई दाजु बहिनीको संवादका रुपमा लेखेकी छिन्।
उनले लेखेकी लामो संवादलाई संक्षेपमा प्रस्तुत गरेको छु;
- समानुपातिकको आश्वासन र धोका: सुरुमा ‘पढेलेखेको मधेशी महिला’को आवश्यकता भन्दै शर्मालाई समानुपातिक तर्फबाट अगाडि बढ्न सुझाइएको थियो। तर, लोकतान्त्रिक प्रक्रियाबाट ‘टप ३’ मा नाम आउँदा पनि रातोरात बन्दसूची हेरफेर गरी उनलाई सातौँ स्थानमा धकेलियो।
- प्रत्यक्षको जाल: समानुपातिकमा अन्याय भएपछि प्रत्यक्ष निर्वाचन लड्ने इच्छा देखाउँदा सभापतिले ‘मधेशमा प्रत्यक्ष लड्ने आँट गर्ने महिला’ भन्दै टिकट पक्का भएको आश्वासन दिए। उनलाई ५० हजार र २५ हजार गरी पटक-पटक उम्मेदवारी शुल्क समेत तिराइयो।
- जनकपुरको त्यो अपमानित सभा: टिकट दिने बहानामा जनकपुर बोलाइएकी शर्मालाई आमसभामा वक्ताको रूपमा समेत बञ्चित गरियो। उनले जबर्जस्ती माइक लिएर बोल्दाबोल्दै माइक काटिएको पीडादायी अनुभव सुनाएकी छिन्।
- मध्यरातको ‘बेघर’ यात्रा: टिकट पाउने आशमा होटलमा रातभर कुराइएकी शर्मालाई अन्त्यमा “एक माघले जाडो जाँदैन” भन्दै रित्तो हात फर्काइयो। राती १ बजे मात्र उनले थाहा पाइन् कि आफूले चाहेको क्षेत्रको टिकट अर्कैले लिएर गइसकेको थियो।
४ वर्षको राजनीतिक संघर्ष र परिवार त्यागेर लागेकी शर्माले यस घटनालाई ‘इमानसँगको खेलवाड’ र ‘अपराध’ को संज्ञा दिएकी छिन्। उनले नयाँ भनिएको पार्टीले पनि पुरानै दलको प्रवृत्ति दोहोर्याएको भन्दै अब मधेशका अधुरा सपना पूरा गर्न र यस्ता छलकपटको भण्डाफोर गर्न आफू झन् बलियो भएर अगाडि बढ्ने उद्घोष गरेकी छिन्।
यदि मेरो परिवारका सदस्य यस्तो अवस्थामा हुन्थे भने, यो केवल एउटा टिकट नपाउनुको पीडा मात्र हुँदैनथ्यो। यो त एउटा व्यक्तिको निष्ठा, समय र ऊर्जामाथि गरिएको ‘सिस्टमेटिक’ प्रहार हो।
राजनीतिमा हार-जित स्वाभाविक होला, तर “आशा देखाएर बीच बाटोमा अलपत्र पार्नु” नैतिक रूपमा गलत छ। यस्तो अवस्थामा साहस नहारी आफ्नो आवाज बुलन्द राख्नु नै सही मार्ग हुनेछ।



