फागुन ८,निजगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारामा पहिरो जान थालेको छ। हिजो मात्रै रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेलगत्तै आज बारा जिल्लाका प्रभावशाली नेता एवं जिल्ला संगठन विभाग प्रमुख पवन चौधरीले पनि साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन्।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष उम्मेद्वार बनेर घण्टी बजाउँदै चुनावी मैदानमा होमिएका चौधरीको राजीनामाले बारा रास्वपामा ठूलो रिक्तता र हलचल पैदा गरिदिएको छ।

किन छाडे चौधरीले ‘घण्टी’?
​संगठन निर्माणमा सुरुवाती दिनदेखि नै अहोरात्र खटिएका चौधरीले पार्टी नेतृत्वमाथि ‘आर्थिक अनियमितता’ र ‘सैद्धान्तिक विचलन’ को गम्भीर आरोप लगाएका छन्।

उनले जारी गरेको राजीनामा पत्रमा भनिएको छ:
​”आसन्न फागुन २१ गतेको निर्वाचनका लागि पार्टीले अवलम्बन गरेको पद्धति र कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य र विधान विपरीत छ।

आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको देख्दा मेरो आत्मसम्मानमा चोट पुगेको छ।”
​”जान्नेलाई छान्ने र युवा पुस्ता आउनुपर्छ भन्ने नारा बोकेर हिँडियो, तर अहिले संगठनमा रगत-पसिना बगाउने ‘घण्टी मित्र’हरूको योगदानको कुनै मूल्याङ्कन भएन। यस्तो बेथितिको साक्षी बसेर मौन बस्न मेरो नैतिकताले दिएन।” उनले भनेका छन्।

बारामा रास्वपा ‘पङ्गु’ बन्दै?
​हिजो मात्रै मधेश प्रदेशको कमान्ड सम्हालेकी संस्थापक सभापति ममता शर्माले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेस प्रवेश गरेपछि रास्वपा रक्षात्मक अवस्थामा पुगेको थियो। लगत्तै आज जिल्ला संगठन विभाग प्रमुख चौधरीले पनि राजीनामा दिएपछि बारा र समग्र मधेश प्रदेशमा रास्वपाको संगठन ‘तासको महल’ झैँ ढल्ने खतरा बढेको छ।

बारा ४ मा उम्मेदवार बन्दा पाएको जनमत र बनाएको संगठन चौधरीको बहिर्गमनसँगै अब कुन दिशातिर लाग्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ।

रास्वपाको ‘नयाँ राजनीति’ को नारा मधेशमा आएर यसरी स्खलित हुनुले आगामी निर्वाचनमा पार्टीलाई ठूलो मूल्य चुकाउनुपर्ने राजनीतिक विश्लेषकहरू बताउँछन्।

२०७९ श्रावणदेखि पार्टीमा होमिएका संस्थापक सदस्यहरूको यो बहिर्गमनले बारामा रास्वपाको पकड कमजोर हुने देखिएको छ।

निर्वाचनको मुखमा संगठन प्रमुख जस्तो जिम्मेवार व्यक्तिले नै आर्थिक चलखेल र सिद्धान्तहीनताको आरोप लगाएर छाड्नुले जिल्ला तहका अन्य कार्यकर्ताहरूमा पनि निराशा छाएको छ।

​यस विषयमा रास्वपा केन्द्रीय कार्यालय वा प्रदेश कमिटीले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

तर, एकपछि अर्को गर्दै सक्रिय नेताहरूले पार्टी छाड्ने क्रम बढेपछि ‘नयाँ शक्ति’ भनिएको रास्वपाभित्रको आन्तरिक लोकतन्त्र र पारदर्शितामाथि ठुलो प्रश्न चिन्ह खडा भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय