फागुन ११,हेटौंडा।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको राजनीतिमा सोमबार ठूलो फेरबदल आएको छ।

हेटौंडाको हुप्रचौरमा रास्वपाले वृहत् सभा आयोजना गरिरहँदा, पार्टीका जिल्ला सभापति भरत पराजुली भने सर्लाही पुगेर पुरानै घर नेपाली कांग्रेसमा फर्किएका छन्।

​सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित एक समारोहका बीच सभापति गगनकुमार थापाले पराजुलीलाई टीका, माला र खादा लगाएर पार्टीमा स्वागत गरेका छन्।

पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौला र युवा नेता राममणी न्यौपाने लगायतका नेताहरू पनि सामूहिक रूपमा कांग्रेस प्रवेश गरेका हुन्।

​रास्वपाले हेटौंडामा शक्ति प्रदर्शन गर्ने समयमा जिल्लाका नेतृत्वले पार्टी त्याग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सभापति रवि लामिछाने र केन्द्रिय सदस्य रमेश प्रसाईं लागायतका नेताहरुले आज हेटौंडाको हुप्र चौरमा चुनावी सभा गर्दैछन्।

पराजुलीसहितको टोली हिजो राति नै सुटुक्क सर्लाही पुगेको थियो।
​झण्डै ३० वर्ष कांग्रेसमा बिताएर २०७९ साउनमा रास्वपा प्रवेश गरेका पराजुलीले गत प्रतिनिधिसभा निर्वाचनमा १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए।

पार्टी परित्यागको घोषणा गर्दै पराजुलीले रास्वपाभित्र व्यक्तिपूजा, आर्थिक प्रभाव र सैद्धान्तिक विचलन हाबी भएको आरोप लगाएका छन्। “पार्टीको स्थापनाकालीन उद्देश्य र व्यवहारबीच जमिन-आसमानको अन्तर देखियो, जहाँ आत्मसम्मान र निष्ठाको कदर हुन छाड्यो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

​”नेतृत्वको मूल्यांकन शैली र व्यवहारले आगामी दिनमा इमानदार कार्यकर्ताको संरक्षण नहुने निश्चित देखेपछि मैले आत्मसम्मानका लागि यो निर्णय लिएको हुँ।” उनी भन्छ्न्।

​यो घटनाले रास्वपाको स्थानीय संगठनमा ठूलो धक्का पुगेको विश्लेषण गरिएको छ भने मकवानपुरको राजनीतिक वृत्तमा नयाँ बहस छेडिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय