फागुन १२,काठमाडौं।नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कीर्तिमानी स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि नेपाली कांग्रेसले आर्थिक सहयोग प्रदान गरेको छ।

घुँडाको गम्भीर चोटका कारण शल्यक्रियाको तयारीमा रहेकी साम्बालाई पार्टीको तर्फबाट रु. ५ लाख सहयोग गरिएको हो।

​नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार एक विज्ञप्ति जारी गर्दै साम्बाको जटिल शल्यक्रियाका लागि उक्त रकम सहयोग गरिएको जानकारी दिएका छन्।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पनि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङसँग टेलिफोन संवाद गरी उक्त रकम खेलाडी उपचार कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धता अनुसार एन्फाको ग्लोबल आईएमई बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरिएको छ।

यस्तै,नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नाम अन्तर्राष्ट्रिय जगतमा चम्काउन साम्बाले पुर्‍याएको योगदानको उच्च कदर गरेका छन्। “देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गर्ने खेलाडीलाई यतिबेला हामी सबैले साथ दिनु जरुरी छ,” सभापति थापाले भने। उनले पार्टी र व्यक्तिगत तर्फबाट साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

​केएमसी अस्पतालद्वारा निःशुल्क उपचारको घोषणा

​आर्थिक सहयोगका बीच काठमाडौँ मेडिकल कलेज (केएमसी) ले पनि साम्बाको उपचारमा ठूलो राहतको घोषणा गरेको छ। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय कप्तान साम्बाको सम्पूर्ण उपचार निःशुल्क गरिदिने जानकारी दिएका हुन्।

मैदानमा ‘गोल मेसिन’का रूपमा चिनिने साम्बा हाल चोटका कारण मैदान बाहिर छिन्।

राजनीतिक दल र अस्पतालहरूको यो अग्रसरताले नेपाली खेलकुद क्षेत्र र खेलाडीको मनोबल उच्च बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय