फागुन १६,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी फागु पूर्णिमा (होली पर्व) लाई सभ्य र अनुशासित रूपमा मनाउन आग्रह गर्दै विभिन्न प्रतिबन्धात्मक नियमहरू जारी गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भइरहेकाले जिल्ला सुरक्षा समिति मकवानपुरले यस्तो निर्णय गरेको हो।

​शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले निर्वाचनको स्वच्छता, निष्पक्षता र सुरक्षालाई मध्यनजर गर्दै होलीका नाममा हुने भिडभाड र तडकभडकमा रोक लगाएको जनाएको छ।

प्रशासनले जारी गरेका मुख्य नियमहरू:

  • भिडभाड गर्न निषेध: हेटौँडाको संगमचोक, बुद्धचोक, सीमाचोक, स्कुल रोड, पारिजातपथ र हुप्रचौर लगायतका क्षेत्रमा विगतमा जस्तो भिडभाड हुने गरी कुनै पनि कार्यक्रम गर्न पाइने छैन।
  • डिजे र साउन्ड सिस्टममा रोक: फागुन १८ र १९ गते हेटौँडा लगायत जिल्लाभर डिजेका लागि साउन्ड सिस्टम भाडामा दिन र बजाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
  • मदिरा र हुक्का निषेध: होलीका दिन रेस्टुरेन्टहरूमा मदिरा तथा हुक्काजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाइएको छ।
  • समय सीमा: होली पर्व मनाउँदा सकभर आ-आफ्नो घरभित्रै मनाउन र फागुन १८ गते बेलुका ५:०० बजेपछि होली खेल्ने कार्य नगर्न प्रशासनले निर्देशन दिएको छ।
  • राजनीतिक प्रचारमा रोक: होलीको बहानामा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा नाराबाजी गर्न वा प्रचार सामग्री प्रयोग गर्न पाइने छैन।
  • चन्दा संकलनमा रोक: होलीको नाममा कुनै पनि व्यक्ति वा संस्थाले औद्योगिक प्रतिष्ठान लगायतबाट चन्दा वा सहयोग लिन नपाउने सूचनामा उल्लेख छ।

​प्रशासनले स्थानीय तहहरूलाई समेत होली मनाउने प्रयोजनका लागि सार्वजनिक स्थलहरू उपलब्ध नगराउन निर्देशन दिएको छ।

निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी कुनै पनि गतिविधि भएमा कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय