फागुन २३,निजगढ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नगर कमिटी संयोजक सन्तोष दंगालले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
हालै सम्पन्न संघीय निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका दंगालले चुनावी परिणाम र विशेषगरी आफ्नै नगरमा अपेक्षित मत प्राप्त गर्न नसकेको भन्दै ‘नैतिकता’ को आधारमा पद त्याग गरेको बताएका छन्।
आज मिति २०८२ फागुन २४ गते एक प्रेस विज्ञप्ति जारी गर्दै दंगालले नगर संयोजकको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका हुन्।
किन दिए राजीनामा?
दंगालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “म जुन नगरको संयोजक छु, सोही नगरमा संगठनको अपेक्षित मत जोगाउन नसक्नुलाई मैले नैतिक संकटको कसीमा उभिनुपर्ने ठानेको छु। राष्ट्रिय राजनीतिमा जस्तो खालको लहर चले पनि आफ्नो नेतृत्व रहेको क्षेत्रमा मत संरक्षण गर्न नसक्नुको जिम्मेवारी लिँदै म आजकै मितिबाट संयोजक पदबाट राजीनामा दिन्छु।”
साधारण सदस्यमा सीमित रहने
पार्टीको नगर, जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई राजीनामाको जानकारी गराउँदै दंगालले अब आफू पार्टीको एक साधारण सदस्यका रूपमा मात्र रहेर संगठन निर्माणमा जुट्ने बताएका छन्।
छोटो समयको राजनीतिक यात्रामा पार्टीले दिएको जिम्मेवारी र बारा जिल्लाका नेता-कार्यकर्ताले देखाएको सद्भावप्रति उनले आभार व्यक्त गरेका छन्।
दंगालको यो राजीनामालाई स्थानीय राजनीतिमा ‘नैतिकताको राजनीति’ को एउटा उदाहरणीय कदमका रूपमा हेरिएको छ।



