चैत्र २,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि आयोजना गर्न लागेको ‘क्लोज क्याम्प'(अभिमुखिकरण)मा कडा नियम लगाउने भएको छ।
संसदीय मर्यादा र पार्टी अनुशासन सिकाउन ‘कडा’ नियमसहितको दुई दिने ‘क्लोज क्याम्प’ आयोजना गर्ने भएको पार्टीले जारी गरेको बिज्ञप्तीमा जनाईएको छ।

भोलि र पर्सी ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा हुने कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि पार्टीले सैन्य शैलीको अनुशासन लागू गरेको छ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनामा उल्लेखित नियमहरूले अहिले राजनीतिक वृत्तमा चर्चा पाएको छ।
सांसदहरूलाई जनताको काममा केन्द्रित गराउन र भड्किलोपन रोक्न रास्वपाले यस्तो कदम चालेको बुझिएको छ।
के-के छन् त ‘कडा’ नियमहरू?
- मोबाइल प्रतिबन्ध: कार्यक्रम हलभित्र सांसदहरूले मोबाइल फोन प्रयोग गर्न पाउने छैनन्। छलफलमा पूर्ण ध्यान केन्द्रित गराउन यस्तो नियम लगाइएको हो।
- नो गेस्ट, नो फोटो: कार्यक्रम स्थलमा परिवारका सदस्य, साथीभाइ वा कुनै पनि पाहुनालाई प्रवेश निषेध गरिएको छ। सांसदहरूलाई कसैसँग भेटघाट गर्न, बैठक बस्न र फोटो खिच्न समेत कडा रोक लगाइएको छ।
- सांसदकै भरमा चालक: सांसदसँग आउने चालक वा निजी सहायकको खानपान र आवासको जिम्मा पार्टीले लिने छैन। उनीहरूलाई होटल परिसर बाहिरै व्यवस्थापन गर्न भनिएको छ।
- आवासीय र सामूहिक बसाई: कार्यक्रम पूर्णतः आवासीय हुनेछ जहाँ सांसदहरू ‘सेयरिङ बेसिस’ (साझा कोठा) मा बस्नुपर्नेछ।
- पोशाक संहिता: सांसदहरूले तामझामपूर्ण लुगा नभई ‘बिजनेस क्याजुअल’ (Business Casual) पोशाक लगाउनुपर्ने अनिवार्य गरिएको छ।
नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, पार्टीको नीति र जनउत्तरदायी भूमिकाबारे गम्भीर बनाउन रास्वपाले यो रणनीति अपनाएको देखिन्छ।
बाहिरी प्रभाव र प्रविधिको अवरोध बिना सांसदहरूलाई प्रशिक्षित गराउनु नै यो ‘कडा’ नियमको मुख्य उद्देश्य रहेको पार्टी स्रोतले जनाएको छ।
सबै नवनिर्वाचित सांसदहरूलाई चैत्र ३ गते बिहान १०:०० बजे अनिवार्य उपस्थित हुन निर्देशन दिइएको यो कार्यक्रमले रास्वपाको आगामी संसदीय यात्रा कस्तो होला भन्ने संकेत समेत गरेको छ।



