चैत्र १५, निजगढ। नेकपा एमाले बाराकी जिल्ला सदस्य तथा पार्टीको महिला विभागकी केन्द्रीय सदस्य सरिता सापकोटाले पार्टीको पछिल्लो आन्दोलनभन्दा बिरामी जनताको सेवा आफूका लागि प्राथमिकताको विषय भएको बताएकी छिन्।

आफ्नो क्षेत्र निजगढका जनता गम्भीर रोगबाट ग्रसित भई उपचारका लागि छटपटाइरहेको अवस्थामा उनीहरूलाई छाडेर आन्दोलनमा जान नसकिने सापकोटाको भनाइ छ।

उनले आईतवार लामो समयदेखी”लिभर सिरोसिस्” बाट ग्रसित सिंगौलका एक बिरामीलाई उपचार गराउन काठमाडौं लान लागेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै मानवीय संवेदनाले भरिएको विचार पोखेकी हुन्।

हाल उनी काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेन्टरमा बिरामीहरूको उपचार र सहयोगमा खटिएकी छिन्।

मानवीय सेवा नै धर्म: सापकोटा
​सापकोटाले आफ्ना जनता लामो समयदेखि जटिल स्वास्थ्य समस्याबाट गुज्रिरहेकाले उनीहरूको साथमा रहनु आफ्नो पहिलो कर्तव्य भएको बताएकी छिन्।

उनले भनिन्: ​”यतिखेर म आफ्नै निजगढका जनतासँग छु, जो विगत लामो समयदेखि गम्भीर रोगबाट ग्रसित छन्। म उनीहरूको साथमा वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको सहयोगका निम्ति छु।  त्यसैले अहिले मेरो लागि आन्दोलनभन्दा मेरा निजगढका जनता ठूला हुन्।”

आन्दोलनमा सहभागी नहुने घोषणा
​पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले देशव्यापी रूपमा विभिन्न विरोधका कार्यक्रम र आन्दोलनहरू तय गरिरहेका बेला सापकोटाको यो निर्णय बाहिर आएको हो।

उनले बिरामी जनताको अवस्थालाई नजरअन्दाज गरेर राजनीतिक कार्यक्रममा सहभागी हुन आफ्नो नैतिकताले नदिने भन्दै नेकपा एमालेको वर्तमान आन्दोलनमा सहभागी हुन नसक्ने स्पष्ट पारेकी छिन्।

राजनीति जनताको सेवाका लागि हुनुपर्ने र अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्नु नै वास्तविक राजनीति भएको उनको तर्क छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय