चैत्र १६, निजगढ।नयाँ वर्ष २०८३ को अवसरमा निजगढस्थित The Farmers Cafe मा ‘आवाहन ब्यान्ड’ले भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

आगामी बैशाख १ गते साँझ ५ देखि १० बजे सम्म हुने कार्यक्रम स्थानीय कला र ब्यान्ड संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको बताईएको छ।

कार्यक्रममा रक, पप तथा आधुनिक गीतहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

​लामो समयदेखि निजगढमा आफ्नो प्रस्तुति दिने सपना बुनेको यस ब्यान्डले विगत एक वर्षदेखि निरन्तर अभ्यास गरिरहेको छ। ब्यान्डका म्यानेजर राजकुमार लामा र ड्रमर रोशन खड्गीका अनुसार यसअघि विजयादशमीमा पनि कार्यक्रमहरू गरिएको थियो।

​स्थानीय ब्यान्डहरूलाई आर्थिक सहयोग जुटाउन कठिन हुने र चन्दा तथा टिकटको भर पर्नुपर्ने बाध्यताका बीच यसपटक The Farmers Cafe का सञ्चालक राम भण्डारीले कार्यक्रम आयोजनाका लागि स्वतःस्फूर्त आग्रह गर्दै आवश्यक सहयोग उपलब्ध गराएपछि ब्यान्डका सदस्यहरूमा उत्साह थपिएको छ।

​ब्यान्डका भोकलिस्ट भुपेन्द्र सापकोटा भन्छन्, “ब्यान्डमा गाउने र रक सङ्गीत प्रदर्शन गर्ने चाहना हरेक युवामा हुन्छ। हाम्रो यस कार्यक्रममार्फत निजगढका आगामी पुस्ताका युवाहरूलाई पनि ब्यान्ड संस्कृति विकास गर्न प्रेरणा मिलोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।”

कार्यक्रमलाई सफल बनाउन बाह्रसिङ्गे, तमागढी डेरी र तिरुपति पेन्ट्सले आर्थिक सहयोग प्रदान गरेका छन्। आयोजकले अन्य इच्छुक प्रायोजकहरूलाई पनि ब्यान्डसँग सम्पर्क गरी सहयोग गर्न आह्वान गरेको छ।

​नयाँ वर्षको सुखद उपलक्ष्यमा आयोजना हुन लागेको यस साङ्गीतिक साँझमा सहभागी भई भरपुर मनोरञ्जन लिन आयोजक समितिले सम्पूर्ण सङ्गीत प्रेमीहरूमा हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय