चैत्र १७,काठमाडौं । पहुँच र शक्तिको आडमा सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्काउन सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले देशभरको स्वास्थ्य सेवामा सन्तुलन कायम गर्न र दुर्गममा देखिएको चिकित्सक अभाव अन्त्य गर्न यस्तो कदम चालेकी हुन्।

मन्त्रालयले पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाएको छ।
दुर्गम क्षेत्रका नागरिकले पनि विशेषज्ञ सेवा पाउन सकून् भन्ने उद्देश्यले काज फिर्ता गरिएको बताईएको छ।
पहुँचको भरमा सुगममा मात्रै केन्द्रित हुने प्रवृत्तिलाई निरुत्साहित गर्न मन्त्रालयले कडाइ गरेको मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा वरिष्ठ चिकित्सकहरूलाई पठाइएको र यो प्रक्रियालाई निरन्तरता दिइने जनाईएको छ।



