चैत्र २१, निजगढ। बाँच्ने इच्छा र सपनाहरू आँखाभरि बोकेकी बाराको निजगढ–२ सिंगौलकी २१ वर्षीया ईशा विकको जीवन बचाउन यतिबेला मानवीयताको एउटा ठूलो लहर चलेको छ।

दुवै मृगौलाले काम गर्न छाडेपछि  मृत्युसँग जुधिरहेकी ईशाको उपचारार्थ सुरु गरिएको अभियानको १५ औँ दिनसम्म आइपुग्दा १०० जना मनकारी हातहरूले साथ दिएका छन्।

​सञ्चारकर्मी शान्त सापकोटाको पहलमा सुरु भएको यस बचाउ अभियानमार्फत हालसम्म कुल रु २,०१,६६८ (दुई लाख एक हजार छ सय अठसट्ठी) संकलन भएको छ।

संकलित यो रकमले पीडित परिवारमा थोरै भए पनि आशाको दियो बालेको छ।

अभियानमा अभियन्ता र कलाकारको ऐक्यबद्धता

यो अभियानमा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले पनि ऐक्यबद्धता जनाइरहेका छन्। महिला हिंसाविरुद्धको अभियानमा सक्रिय अभियन्ता शोभा पाठकले अभियानमा जोडिएर सहयोग पुर्‍याएकि छिन्।

​त्यसैगरी, चर्चित गायिका जुनु रिजालले पनि ईशाको उपचारका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। कलाकार र सामाजिक अभियन्ताहरूको यो सक्रियताले ईशाको उपचारका लागि थप ऊर्जा प्रदान गरेको छ।

अझै ४ लाखको अभाव

ईशाको मृगौला प्रत्यारोपण गरी उनलाई नयाँ जीवन दिन अझै करिब ४ लाख रुपैयाँ रकम अपुग देखिएको छ। अहिलेसम्म जुटेको रकमले उपचार प्रक्रिया अघि बढे पनि प्रत्यारोपणको मुख्य खर्च जुटाउन अझै धेरै मनकारी नेपालीहरूको सहयोग आवश्यक छ।

​अभियानका संयोजक शान्त सापकोटाले भने, “सानो–सानो सहयोगले कसैको जीवन बच्छ भने हामी किन पछि हट्ने?

१५ दिनमा जुन विश्वास र सहयोग प्राप्त भएको छ, त्यसले हामीलाई निकै उत्साहित बनाएको छ। बाँकी अपुग रकम पनि छिट्टै जुट्नेमा हामी विश्वस्त छौँ।”

​७ समुन्द्र पारि रहेका नेपालीदेखि स्थानीय स्तरका समाजसेवीहरूले देखाएको यो आत्मीयताले ईशा विकलाई फेरि हाँस्न र पढ्न सक्ने बनाउने आशा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय