चैत्र २१,काठमाडौं। नेपाल सरकार, अर्थ मन्त्रालयले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउने उमेरबारे बजारमा चलेका हल्ला र टिकाटिप्पणीको खण्डन गर्दै स्पष्टीकरण दिएको छ।
शुक्रबार एक महत्त्वपूर्ण सूचना जारी गर्दै मन्त्रालयले वृद्ध भत्ता पाउने उमेर परिवर्तन हुन लागेको भन्दै भइरहेका चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेको हो।

”वृद्ध भत्ता पाउने उमेरबारे भएका टिकाटिप्पणीहरूमा कुनै सत्यता छैन। यस सन्दर्भमा मन्त्रालय र माननीय मन्त्रीज्यूले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौँ।” बिज्ञप्तीमा भनिएको छ।
पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न माध्यमहरूमा सरकारले वृद्ध भत्ता पाउने उमेर हद बढाउन वा हेरफेर गर्न लागेको भन्दै भ्रमपूर्ण समाचारहरू फैलिएपछि मन्त्रालयले यस्तो आधिकारिक धारणा सार्वजनिक गरेको हो।
मन्त्रालयले सर्वसाधारणलाई यस्ता भ्रामक हल्लाको पछि नलाग्न समेत आग्रह गरेको छ।
मन्त्रालयले कुनै पनि आधिकारिक निर्णय वा जानकारीका लागि मन्त्रालयको वेबसाइट वा आधिकारिक सूचना संयन्त्रमा मात्र विश्वास गर्न अनुरोध गरेको छ।



