चैत्र २४,हेटौंडा। चर्चित लोक तथा आधुनिक गायिका जुनु रिजालले सामाजिक सञ्जाल फेसबुकबाट प्राप्त भएको आम्दानीलाई परोपकारी कार्यमा खर्च गरेर समाज सेवाको एउटा अनुकरणीय उदाहरण प्रस्तुत गरेकि छिन्।
सामान्यतया समाज सेवा आफ्नै कमाइबाट गर्नुपर्छ भन्ने मान्यता राख्ने रिजालले देशमा भएको पछिल्लो राजनीतिक तथा सामाजिक आन्दोलनका तस्बिर र भिडियोहरू पोस्ट गरेपछि उनको फेसबुक पेज ‘मोनिटाइज’ भई आम्दानी हुन थालेको थियो।

विशेषगरी जेन्जी आन्दोलनका क्रममा भाइरल भएका हृदयविदारक दृश्यहरूका कारण फेसबुकबाट पहिलो पटक १५ हजार रुपैयाँ प्राप्त भए पनि आन्दोलनको पीडादायी पृष्ठभूमिका कारण उनले त्यसलाई खुसीका रूपमा लिन सकिनन्। उनले भनेकी छिन्।
सोचेभन्दा फरक स्रोतबाट पैसा आएपछि उनले त्यसलाई सामाजिक कार्यमा नै लगाउने पवित्र उद्देश्यका साथ हिरा बोहोराको उपचारका लागि तत्काल १० हजार रुपैयाँ सहयोग उपलब्ध गराईन्।
अहिले फेसबुकबाट दोस्रो किस्ताको रुपमा रकम प्राप्त भएपछि गायिका रिजालले थप तीनवटा मानवीय कार्यमा सहयोग गर्ने घोषणा गरेकी छिन्।
जसअन्तर्गत संचारकर्मी शान्त सापकोटाले शुरु गरेका दुबै मृगौला पिडित बारा,निजगढकि २१ वर्षिया ‘इशा बिक बचाऔँ अभियान’ मा ३ हजार, प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको पुल निर्माण अभियानमा ३ हजार र टिकटकमा ‘डिसेबल बोइ’ को नामले चिनिने विकास मोक्तानलाई ३ हजार रुपैयाँ सहयोग गर्ने उनको योजना छ।
”एकले थुकी सुकि,सयौँले थुके नदी हुन्छ” भन्ने भावना बोकेर उनले सम्बन्धित व्यक्तिहरूसँग क्युआर कोड माग गर्दै आफ्नो सानो सहयोगलाई स्वीकार गरिदिन आग्रह गरेकि छिन्।
आफ्ना पोस्टहरूका कारण प्राप्त भएको प्रतिफललाई व्यक्तिगत सुखमा खर्च नगरी पीडामा रहेकाहरूको घाउमा मलम लगाउन प्रयोग गरेर गायिका रिजालले कलाकारितासँगै मानवताको समेत परिचय दिएकि छिन्।



