चैत्र २४,काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि सस्मित पोखरेलले देशका विभिन्न शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध शून्य सहनशीलताको नीति अङ्गीकार गर्ने निर्णय गरेको बताएका छन्।
विद्यार्थीहरूले विद्यालय वा कलेजमा भोग्नुपरेका उत्पीडन, हिंसा वा दुर्व्यवहारका घटनाहरूलाई अत्यन्तै गम्भीरतापूर्वक लिँदै मन्त्रालयले त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्ने र तत्कालै कानुनी तथा प्रशासनिक कारबाही प्रक्रिया अगाडि बढाउने उद्देश्यले विशेष संयन्त्र सञ्चालनमा ल्याएको मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन्।

मन्त्रालयले जारी गरेको पछिल्लो आह्वानमा विद्यार्थीहरूलाई आफूमाथि भएको वा अरूले भोगेको दुर्व्यवहारका बारेमा निर्धक्क भई उजुरी गर्न आग्रह गरिएको छ।
यस प्रक्रियामा सहभागी हुने पीडित वा जानकारी दिने व्यक्तिको सुरक्षा र पहिचानलाई मन्त्रालयले पूर्ण रूपमा गोप्य राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
कुनै पनि विद्यार्थीले अब आफूमाथि हुने अन्यायका विरुद्ध मन्त्रालयले उपलब्ध गराएको आधिकारिक लिंक मार्फत आफ्नो विवरण पठाउन सक्नेछन्।
सबैका लागि सुरक्षित र भयरहित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको यस विशेष अभियानमा विद्यार्थीहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको पनि मन्त्री पोखरेलले जनाएका छन्।



