चैत्र २४,काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु भएको भनी आएका समाचारहरूको कडा खण्डन गरेका छन्।
हाल स्वास्थ्य उपचारको सिलसिलामा विदेशमा रहेका देउवाले एक सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै आफ्नो परिवारका बारेमा भ्रामक र झुटा प्रचारबाजी भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

विज्ञप्तिमा देउवाले आफूहरूले सार्वजनिक पदमा रहँदा प्रचलित नेपालको कानुन बमोजिम सम्पत्तिको यथार्थ विवरण सधैँ सम्बन्धित सरकारी निकायमा पेश गर्दै आएको भनेका छन्।
लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन र पारदर्शिताका लागि आफ्नो सिंगो जीवन संघर्षमा बितेको चर्चा गर्दै उनले आफ्नो जीवन सबैका सामु खुल्ला पुस्तकका रूपमा रहेको पनि बताएका छन्।
भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि आफूले विगतमा निर्वाह गरेको भूमिकाको स्मरण गराउँदै देउवाले आफू गृहमन्त्री रहँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको उल्लेख गरेका छन्।
राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्ने मान्यतामा आफू सधैँ अडिग रहेको उनको भनाइ छ।
हाल आफ्नो उपचारको क्रम जारी रहेकाले विदेशमा रहेको जानकारी दिँदै देउवाले वास्तविकता समयक्रमसँगै खुल्दै जाने विश्वास व्यक्त गरेका छन्।
उनले अतिरञ्जित ढंगले सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न आम नागरिक र शुभचिन्तकहरूमा अपिल समेत गरेका छन्।
सरकारले देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण प्रक्रिया सुरु गरेपछि सामाजिक सञ्जालमार्फत उनको यस्तो धारणा आएको हो ।



