बैशाख ११,हेटौंडा। नेपाल सरकारले सार्वजनिक गरेको तीनै तहका सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने निर्णय प्रेस स्वतन्त्रता र लोकतान्त्रिकमूल्य मान्यतामाथिको सिधा प्रहार हो।
यो निर्णयले एकातिर सञ्चार माध्यमहरूबीच अस्वस्थ खाडल सिर्जना गरेको छ भने अर्कोतिर दशकौँदेखि नेपाली समाजलाई सुसूचित गर्दै आएको निजी र स्वतन्त्र प्रेसको अस्तित्व नै संकटमा पार्ने जोखिम निम्त्याएको छ।

नेपालको संविधानले स्पष्ट रूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको प्रत्याभूति गरेको छ। तर, सरकारको यो कदमले संविधानको भावना र खुला बजार अर्थनीतिलाई समेत चुनौती दिएको छ।
सरकारी स्रोतबाट सञ्चालित विज्ञापन कुनै एक पक्षको पेवा हुन सक्दैन। यो आम जनताले तिरेको करबाट सिर्जित कोष हो, जसमा सबै सञ्चारमाध्यमको समान र न्यायपूर्ण पहुँच हुनु अनिवार्य छ।
राज्यको चौथो अङ्गका रूपमा रहेका निजी क्षेत्रका सञ्चारमाध्यमलाई उपेक्षा गरेर केवल सरकारी मुखपत्रहरूलाई मात्र पोस्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको छ।
नेपाल पत्रकार महासंघले यस विभेदकारी निर्णयविरुद्ध सुरु गरेको देशव्यापी आन्दोलन केवल पत्रकारहरूको पेसागत सुरक्षाको लडाइँ मात्र होइन, यो समग्र नागरिकको सूचना पाउने अधिकार र लोकतन्त्रको रक्षाको अभियान पनि हो।
विज्ञापनलाई नियन्त्रण र वितरणको हतियार बनाएर स्वतन्त्र प्रेसलाई कमजोर बनाउने प्रयास कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन।
सञ्चारमाध्यमहरूले आफ्नो सम्पादकीय नीतिमा स्वतन्त्रता र निष्पक्षता कायम राख्न आर्थिक रूपमा सबल हुनु जरुरी छ। सरकारले विज्ञापन नीतिमा गरेको यो संकुचनले साना र स्वरोजगारमूलक सञ्चारमाध्यमलाई धराशायी बनाउने निश्चित छ।
तसर्थ, सरकारले आफ्नो हठ त्यागेर तत्काल यो विभेदकारी निर्णय फिर्ता लिनुपर्छ।
पत्रकार महासंघको आन्दोलन र सम्पादकीय ऐक्यबद्धताको यो आवाजलाई बेवास्ता गरिएमा त्यसले सरकार र प्रेसबीचको दूरी मात्र बढाउने छैन, बरु लोकतन्त्रको जग नै कमजोर पार्नेछ।
राज्यले सञ्चारमाध्यमलाई ‘नियन्त्रण’ गर्ने होइन, ‘नियमन’ र ‘प्रवर्द्धन’ गर्न सिक्नुपर्छ।
सरकारको यो अनुदार कदम सच्याउन र सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न हामी जोडदार माग गर्दछौँ।




