बैशाख २२,काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत महामहिम डागनी म्योसले शिष्टाचार भेटवार्ता गरेकि छिन्।
सिंहदरबारस्थित मन्त्रालयमा हिजो सोमबार भएको भेटवार्तामा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुद क्षेत्रमा नर्वे सरकारले पुर्याउँदै आएको सहयोग र आगामी सहकार्यबारे छलफल भएको हो।

भेटमा विशेषगरी वर्तमान सरकारको प्राथमिकता, नेपालको विद्यालय शिक्षामा नर्वेले गर्दै आएको सहयोगको निरन्तरता र आगामी साझेदारीका विषयमा केन्द्रित रहेर विचार-विमर्श भएको थियो ।
त्यस अवसरमा शिक्षामन्त्री पोखरेलले नर्वे सरकारले नेपालको विद्यालय शिक्षाको समावेशिता, समता, आधारभूत सिकाइ (फन्डामेन्टल लर्निङ) र ‘क्लाइमेट स्मार्ट एजुकेशन सिस्टम’ जस्ता क्षेत्रमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे ।
साथै, उनले नर्वेको शिक्षा प्रणालीको उत्कृष्टताको प्रशंसा गर्दै नेपालले नर्वेको शैक्षिक प्रणाली र प्रविधिबाट धेरै कुरा सिक्न सक्ने र त्यसका लागि मन्त्रालय तयार रहेको बताए।
जवाफमा राजदूत म्योसले नेपालको विद्यालय शिक्षामा नर्वेले गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरीन्।
उनले नेपाल सरकारको एक सय बुँदे प्राथमिकताका बारेमा आफू जानकार रहेको बताउँदै शिक्षा क्षेत्रमा थप साझेदारी र सहकार्य गर्न नर्वे सरकार उत्सुक रहेको धारणा राखेकी थिइन्।




