बैशाख २७,हेटौंडा। हेटौंडामा सञ्चालित निषाद संगीत पाठशालाले यहाँका संगीत अनुरागीहरूका लागि पहिलो पटक औपचारिक संगीत परीक्षाको ढोका खोलेको छ।
प्रयाग संगीत समिति, इलाहाबादसँगको समन्वयमा सञ्चालित यस पाठशालाले यसवर्षका लागि गायन विधाको परीक्षा फारम खुला गरेको हो।

हेटौंडामा पहिलो पटक यसरी व्यवस्थित रूपमा परीक्षा सञ्चालन हुन लागेकाले स्थानीय विद्यार्थी र संगीतका साधकहरूमा उत्साह थपिएको छ।
पाठशाला संचालक एवं प्रशिक्षक रमेश तिमल्सिना(पूर्ण)का अनुसार गायनतर्फ प्रथम वर्षदेखि छैटौँ वर्षसम्मका विद्यार्थीहरूले परीक्षाका लागि आवेदन दिन सक्नेछन्।
संगितानुरागीहरुले आगामी जेठ १५ गतेसम्म आवेदन फाराम भर्न सक्ने उनले बताए।
साधना, अनुशासन र संगीतले सफलताको बाटो खोल्छ भन्ने नाराका साथ अघि बढेको पाठाशालाले हेटौंडाको सांगीतिक वातावरणलाई व्यावसायिक र मर्यादित बनाउने लक्ष्य राखेको उनको भनाई छ।
संगीतमा रुचि भएका जो कोहीले पनि तोकिएको समयभित्र हेटौंडा-२ स्थित नगरपालिका रोडमा अवस्थित पाठाशालामा सम्पर्क गरी फारम भर्न सकिने उनले बताए।




