जेठ ८,हेटौंडा। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित भर्‍याङडाँडामा शुक्रबार (आज)बिहान डिब्बा ट्रक दुर्घटना हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् भने चालक फरार रहेका छन् ।

​इलाका प्रहरी कार्यालय ठिंगन, मकवानपुरका अनुसार आज बिहान करिब ५:०० बजेको समयमा हेटौँडाबाट डायपर लोड गरी काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७२८ नम्बरको ६ चक्के डिब्बा ट्रक दुर्घटनामा परेको हो ।

​सडकको भित्ता पट्टी थुप्रिएको ढुङ्गा खसेर बाटोमा आउँदा गुडिरहेको ट्रकको चक्का सोही ढुङ्गामा चढ्न गएको थियो ।

चक्का ढुङ्गामा चढेपछि ट्रक अनियन्त्रित भई सडकको बीचमै पल्टिएको प्रहरीले जनाएको छ ।

ट्रक सडकको बीचमै पल्टिएका कारण कान्तिलोकपथमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।

ट्रकमा चालकसहित ३ जना सवार थिए । दुर्घटनामा २ जना सामान्य घाइते भएका छन् । उनीहरू आफ्नै खर्चमा उपचार गराउने भन्दै घटनास्थलबाट गएका र दुर्घटना लगतै ट्रक चालक फरार भएका प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ५ किलोमिटर पूर्व-उत्तर दिशामा पर्दछ ।

जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको छ । सडकमा पल्टिएको ट्रकलाई हटाई यातायात पुनः सञ्चालन गर्नका लागि अहिले सडक विभागसँग समन्वय गरी आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय