जेठ १२,निजगढ। बाराको निजगढमा हावाहुरीका कारण रुखको हाँगा भाँच्चिएर गुडिरहेको ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज सोमबार साँझ अन्दाजी ६:४५ बजेको समयमा निजगढ नगरपालिका वडा नं. ६ स्थित जन सृजनशिल सामुदायिक वन क्षेत्रको योजना टोल–सिंगौल भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो।

सिंगौलबाट निजगढ योजना टोलतर्फ आउँदै गरेको ना ७ त ५१५० नम्बरको ट्याक्टरमाथि अचानक आएको हावाहुरीका कारण रुखको हाँगा भाँच्चिएर खसेको निजगढ प्रहरीले जनायो।
प्रहरीका अनुसार रुखको हाँगाले लाग्दा ट्याक्टरमा सवार निजगढ नगरपालिका वडा नं. ४ पुरानो टोल बस्ने ५५ वर्षीय ‘अर्याल साइँला’ भनिने देवबहादुर अर्याल गम्भीर घाइते भएका थिए।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको उद्धार टोलीले उनलाई तत्काल उपचारका लागि सामुदायिक प्रसुती गृह अस्पताल निजगढ पुर्याएको थियो।
तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले जाँच गरी साँझ ७:१० बजे उनलाई मृत घोषित गरेका थिए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा परी ट्याक्टरमै सवार अर्का एक जना घाइते भएका छन्। घाइते हुनेमा नुवाकोटको सूर्यगढी नगरपालिका वडा नं. १ लज्याङ घर भई हाल निजगढ नगरपालिका वडा नं. ५ बागदेव बस्ने ३२ वर्षीय कृष्ण घलान रहेका छन्।
उनको ढाडमा चोट लागेको र आफन्तको सहयोगमा उपचारका लागि सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा लगिएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बुझिएको छ।
प्रहरीले दुर्घटनामा परेको ट्याक्टर र ट्याक्टर चालक निजगढ नगरपालिका वडा नं. ४ पुरानो टोल बस्ने ५० वर्षीय बुद्धमान बललाई नियन्त्रणमा लिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले बताएका छन्।




