जेठ १२,हेटौंडा। मकवानपुर जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । तराई–मधेश द्रुतमार्गको सुरुङभित्र काम गर्ने क्रममा दुर्घटना हुँदा र श्रीमानको कुटपिटबाट दुई जनाको मृत्यु भएको हो ।
गएराती करिब पौने १० बजेको समयमा भीमफेदी गाउँपालिका वडा नं. ८ महादेवटारस्थित द्रुतमार्गको सुरुङभित्र काम गर्ने क्रममा माथिबाट फलामको उपकरण र ढुङ्गा खसेको थियो ।

उक्त सामग्रीले लागेर बर्दिया घर भएका अन्दाजी ३० वर्षीय कामदार रामगोपाल चौधरी गम्भीर घाइते भएका थिए भने मकवानपुर थाहा नगरपालिका वडा नं. ५ का २२ वर्षीय सन्तोष बम्जनको दाहिने हातमा सामान्य चोट लागेको थियो ।
घाइते दुवै जनालाई राति ११:३५ बजे चुरेहिल अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा ११:४० बजे चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्का घाइते बम्जनको सोही अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा खटिएका प्रहरीमार्फत जानकारी पाएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली घटनास्थलतर्फ गई थप अनुसन्धान गरिरहेको छ।
यसैगरी,आज बिहान करिब साढे १० बजे हेटौँडा उपमहानगरपालिका वडा नं. १ चौकिटोलस्थित तरकारी मन्डि नजिकै डेरा गरी बस्ने ४५ वर्षीय रामलाल ब्लोनले आफ्नै ४२ वर्षीया श्रीमती ओमकुमारी भुजेललाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
मूल घर मनहरी गाउँपालिका वडा नं. ३ भएका उनीहरूबीचको कुटपिटबारे जानकारी पाउनासाथ प्रहरी चौकी चौकिटोलबाट खटिएको टोलीले घाइते महिलाको उद्धार गरी हेटौँडा अस्पताल पठाएको थियो ।
अस्पताल पुर्याए लगत्तै बिहान ११:०० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको मुख, दुवै हातखुट्टा र ढाडमा कुटपिटको निलडाम र चोट देखिएको प्रहरीले जनायो।
श्रीमती हत्याको आरोपमा श्रीमान रामलाललाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।




