जेठ १३, काठमाडौं। नेपाल पत्रकार महासंघले सरकारको विभेदकारी नीति विरुद्ध आउँदो जेठ १४ गते देशका सम्पूर्ण सञ्चारमाध्यमहरूलाई आफ्ना सम्पादकीय वा अन्य निश्चित स्थान कालो राखेर विरोध जनाउन आह्वान गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने र सञ्चारमाध्यमलाई आर्थिक रूपमा धराशायी बनाउने सरकारी कदमका विरुद्ध यो निर्णय गरिएको हो।

सरकारले प्रेस स्वतन्त्रता नियन्त्रणको अभ्यास स्वरूप पत्रकारहरूलाई निगरानीमा राख्ने, त्रास सिर्जना गर्ने, समाचार संकलनमा अवरोध पुर्याउने, श्रमजीवी पत्रकारको श्रम अधिकार सुरक्षा नगर्ने तथा आर्थिक नाकाबन्दी लगाउने जस्ता कार्यहरू गरिरहेको महासंघले आरोप लगाएको छ।
महासंघका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ साल चैत १८ गते खर्च कटौतीको बहानामा सबै तहको सरकारी सूचना र विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने स्वेच्छाचारी र विभेदकारी निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयका कारण देशका सम्पूर्ण सामुदायिक तथा निजी सञ्चारमाध्यमको दिगोपन र श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षामा गम्भीर संकट उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ।
सरकारको उक्त विभेदकारी निर्णय खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघले चरणवद्ध दबाबमूलक अभियान सञ्चालन गरिरहेको छ।
यसै अभियानको निरन्तरता स्वरूप महासंघले २०८३ जेठ १४ गते (भोलि,बुधवार)सञ्चारमाध्यमका सम्पादकीय वा अन्य उपयुक्त स्थानमा कालो राख्ने निर्णय गरेको हो।
महासंघले यस आन्दोलनमा ऐक्यबद्धता प्रकट गरिदिन देशका सम्पूर्ण सञ्चारमाध्यमहरूलाई विशेष आह्वान समेत गरेको छ।
विज्ञप्तिको अन्त्यमा, महासंघले यसअघि भएका दबाबमूलक अभियानहरूमा निरन्तर साथ र समर्थन दिँदै आएका सम्पूर्ण सञ्चारमाध्यमहरूप्रति हार्दिक आभार समेत प्रकट गरेको छ।




