जेठ १३,हेटौंडा। नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली सहायक कामदार पठाउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
वैदेशिक रोजगार विभागले विज्ञापन नम्बर ०१/८२/८३ जारी गर्दै गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिहरूको स्याहारका लागि कुल २ हजार ३ सय जना नेपाली सहायक कामदारको माग गर्दै आवेदन आह्वान गरेको हो।

यसपटक माग गरिएको कुल संख्यामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषका लागि कोटा निर्धारण गरिएको छ।
विभागले तोकेको विवरण अनुसार छनोट हुने सहायक कामदारको मासिक तलब ६,४४३.८५ इजरायली मुद्रा (तीन लाख सैंतीस हजार चार सय सत्तरी नेपाली रुपैयाँ) रहने छ भने ओभर टाइम सुविधा इजरायली सरकारको नियमानुसार उपलब्ध हुनेछ।
हप्तामा ६ दिन र प्रतिहप्ता ४२ घण्टा (अतिरिक्त समय बाहेक) काम गर्नुपर्ने यस रोजगारीमा वार्षिक बिदा इजरायली कानुन अनुसार प्राप्त हुनेछ।
कामदारले खानाको सुविधा स्वयं व्यहोर्नुपर्नेछ भने बस्ने सुविधा रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमानुसार आवासको प्रबन्ध गर्ने र सोको खर्च कामदारले नै व्यहोर्ने गरी तोकिएको छ।
सुरुमा १ वर्षको करार अवधि रहने यस रोजगारीमा करार अवधि थप गर्न सकिने र थप गरिएको खण्डमा अधिकतम ५ वर्षसम्म इजरायलमा बस्न पाइने व्यवस्था गरिएको छ।
यो रोजगारीका लागि इच्छुक नेपाली नागरिकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्ने न्यूनतम मापदण्ड तोकिएको छ।
शैक्षिक र व्यावसायिक योग्यताको हकमा कम्तीमा १० कक्षा उत्तीर्ण गरी अ.न.मी. वा सि.एम.ए. सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ। अथवा, प्लस टु (१०+२) वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ।
यसका साथै विगतमा इजरायल गई कार्य नगरेको र बुबा, आमा, पति, पत्नी, छोरा वा छोरी हाल इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने कडा प्रावधान पनि राखिएको छ।
यस रोजगारीमा सहभागी हुनका लागि आवश्यक पर्ने अनुमानित खर्च शीर्षकहरू र रकम पनि विभागले स्पष्ट पारेको छ। जसअनुसार नेपाल-इजरायल एकतर्फी हवाई भाडा प्रचलित बजार दर अनुसार हुनेछ भने स्वास्थ्य बिमाबापत उमेर अनुसार ३ हजार ७ सय ८ देखि ४ हजार ९ सय ३१ रुपैयाँसम्म लाग्नेछ।
यस्तै पूर्व प्रस्थान अभिमुखीकरण तालिमका लागि ७ सय रुपैयाँ (महिलाको हकमा निःशुल्क) तोकिएको छ।
पासपोर्ट र अंग्रेजी भाषा परीक्षा शुल्क क्रमशः राहदानी विभागले तोके अनुसार र ५ हजार रुपैयाँ लाग्नेछ।
स्वास्थ्य परीक्षणका लागि ९ हजार ५ सय देखि १० हजार रुपैयाँसम्म, कोभिड-१९ पि.सि.आर. परीक्षण आवश्यकता अनुसार, वैदेशिक रोजगार कल्याणकारी कोषमा १ हजार ५ सय रुपैयाँ र सामाजिक सुरक्षा कोषमा २ हजार ३ सय ८ रुपैयाँ (अथवा कोषको नियमानुसार) जम्मा गर्नुपर्नेछ।
इच्छुक उम्मेदवारहरूले वैदेशिक रोजगार विभागको वेब पोर्टल ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दर्ता गर्न सक्नेछन्।
अनलाइन दरखास्त पेस गर्ने कार्य २०८३ साल जेठ १७ गते राती १२:०० बजेदेखि सुरु भई आवेदन दिने अन्तिम मिति २०८३ साल असार ७ गते राती १२:०० बजेसम्म तोकिएको छ।
यसअघिको विज्ञापनमा लटरी (Lottery) मा छनोट नभएका उम्मेदवारहरूले पनि तोकिएको अंग्रेजी भाषाको मापदण्ड र अन्य सर्तहरू पूरा गरी पुनः आवेदन दिन सक्ने सुविधा दिइएको छ।
विभागले आवेदनका साथ पेस गरिएका विवरण तथा कागजातहरू गलत ठहरिएमा उम्मेदवारको आवेदन जुनसुकै बखत खारेज हुनुका साथै कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिएको छ।




